close

रीता माविका उत्कृष्ट विद्यार्थी सम्मानित

रीता माविका उत्कृष्ट विद्यार्थी सम्मानित

Trulli
ADVERTISEMENT

रूपन्देही– नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायातमन्त्री कुर्मति ढेंगा मगरले विद्यार्थीलाई सम्मान गरे ।

 

कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री यादवले विद्यालयमा बिद्यार्थी संख्याको आधारमा भौतिक पूर्वाधार अभाव रहेकाले संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । प्रदेश र संघ मिलेर विद्यालयमा भौतिक अभाव हुन नदिइने मन्त्री यादवले प्रतिबद्धता जनाए ।


श्रम, रोजगार तथा यातायातमन्त्री ढेंगा मगरले विद्यालयले लुम्बिनी प्रदेशमा मात्र नभएर राष्ट्रमै शैक्षिक गुणस्तर अभिबृद्विमा अगुवाइ गरेकामा धन्यवाद दिइन् । शिक्षा क्षेत्रलाई प्रदेशले प्राथमिकतामा राख्दै आएको उनले बताइन् ।

 

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले प्रदेश सरकारले प्रदेश नमुना विद्यालय कार्यक्रमअन्तर्गत तेस्रो वर्षबाट बजेट विनियोजन बन्द गरेकाले विद्यालयको भौतिक पूर्वाधार विकास एवं शैक्षिक सुधारमा बाधा पर्ने अवस्था आएको जानकारी दिए ।


यसले विद्यालयमा कार्यरत स्टाफ नर्स तथा खेल प्रशिक्षक व्यवस्थापनमा समस्या देखिएकाले बजेट निरन्तरताका लागि प्रदेश सरकारमा लबिइङ गरिदिन उनले माग गरे ।

 

बुटवल उपमहानगर वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र खनालले स्थानीय प्रदेश र संघले शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डद्वारा सञ्चालित २०७६ को कक्षा १२ को बोर्ड परीक्षामा ४ जीपीए ल्याउने छात्रा अपेक्षा चौधरी, २०७८ मा कक्षा ११ को विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ समूहमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।


यस्तै, २०७६ र २०७७ को एसईईमा उत्कृष्ट विद्यार्थी, २०७६ मा सिभिल इन्जिनियरिङमा उत्कृष्ट विद्यार्थी विपिन अधिकारी, २०७६ र २०७७ मा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीलाई पुरस्कार र नगद ७१ हजार रुपैयाँ सम्मानस्वरूप वितरण गरिएको थियो ।

 

हाल नवीन औद्योगिक कदरबहादुर रीता माध्यामिक विद्यालयमा करिब साढे ३५ सय विद्यार्थी अध्ययनरत छन् भने १३० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म पूर्ण अंग्रेजी माध्यम पढाइ हुँदै आएको छ भने कक्षा ११ र १२ व्यवस्थापन समूहमा दुवै माध्यममा पठनपाठन हुने गरेको छ ।


विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन समूह, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र शिक्षा समूहमा मूल अंग्रेजी, गणित, नेपाली र कानुन समूह अध्यापन गराइँदै आएको विद्यालयका प्रअ बस्नेतले बताए ।