close

मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ्यो 

मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ्यो 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल)  र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ । 

 

शिक्षा समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । यसै वर्षदेखि लागू हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधीनराज बुढाथोकीले जानकारी दिए । जसमा विद्यालय सहायक कर्मचारीका लागि सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक पारिश्रमिक  १७ हजार रुपैयाँ निर्धारण गरिएको हो । प्रारम्भिक बाल विकास सहजकर्ताका लागि ८ हजार र नगरपालिकाबाट ७ हजार थप गरी  १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

 

त्यस्तै नगरपालिकाबाट नियुक्त गरिएका बाल विकास सहजकर्ताका लागि नगरपालिकाबाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिए । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका  सहयोगीलाई सङ्घीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट ५  हजार ५०० थप गरी  १२ हजार निर्धारण गरिएको छ । कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीहरुलाई सङ्घीय सरकारबाट प्राप्त ९ हजार ५०० र नगरपालिकाबाट ५ हजार थप गरी  १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए  ।