close

पालिका केन्द्रकाे किचलाेले सुर्नया गाउँपालिकामा लाग्याे ताला

पालिका केन्द्रकाे किचलाेले सुर्नया गाउँपालिकामा लाग्याे ताला

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका विषयमा विवाद भएपछि स्थानीयले सोमबार बेलुकीदेखि पालिकामा ताल्चा लगाइदिएका हुन् ।


गाउँपालिकाको अस्थायी केन्द्र रहेको रौलेश्वर कठ्यागौंडाबाट पवितामा केन्द्र सार्ने चलखेल भएको भन्दै तालाबन्दी गरिएको स्थानीय नरेन्द्र विष्टले बताए । उनले भने, ‘यहाँका स्थानीयले विगतदेखि अस्थायी केन्द्र भएकै ठाउँमा स्थायी केन्द्र बनाउनुपर्ने माग राखेका छन् । तर, गाउँपालिका अध्यक्षले जबर्जस्ती केन्द्र सार्न खोजेपछि तालाबन्द गरिएको हो ।’

 

गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्नेमा विवाद भएपछि डेढ वर्षअघि सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिएको थियो । सर्वोच्चले हाल केन्द्रबारे केही निर्णय नगर्नू भनेर अन्तरिम आदेश जारी गर्दासमेत गाउँपालिकाको केन्द्र सार्न खोजिएपछि स्थानीय आन्दोलनमा उत्रिनु परेको उनको दाबी छ । 


विगतमा राज्य पुनर्संरचना आयोगले अहिले अस्थायी केन्द्र रहेकै ठाउँमा केन्द्र तोकेको भन्दै स्थानीयले २९ रोपनी जग्गाको लालपुर्जासमेत गाउँपालिकामा बुझाइसकेका छन् । गाउँपालिकाको कठ्यागौंडामै हुनुपर्ने उनीहरूको एकसूत्रीय माग छ ।


माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी स्थानीयले दिएका छन् । स्थानीय अर्जुन मडैको संयोजकत्वमा गठित गाउँपालिका केन्द्र संघर्ष समितिले विगतदेखि आन्दोलन गरिरहेको छ । 


स्थानीयले राज्य पुनर्संरचना आयोगले सुर्नया गाउँपालिका– ५ कै रौलेश्वरमा केन्द्र तोकेको र सोहीअनुसार हुनुपर्ने भन्दै सोमबार गाउँपालिकामा निवेदन दर्ता गराएका छन् । सुर्नया कार्यपालिकाको ९ पुस ०७६ को बैठकले गाउँपालिकाको केन्द्र पवितामा तोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्धमा रौलेश्वरमै केन्द्र हुनुपर्ने मागमा अर्को पक्षले विरोध गरिररहेको छ  । 


‘रौलेश्वरमा गाउँपालिका कार्यालय सञ्चालनका लागि आवश्यक भवन निर्माणदेखि अन्य संरचना निर्माण भइरहेको अवस्थामा वडा–५ कै पवितामा रहेको विद्यालयको सार्वजनिक भवनमा गाउँपालिकाको केन्द्र स्थापना गर्ने चलखेल पूरा हुन दिँदैनौं’, गाउँपालिका केन्द्र संघर्ष समितिका संयोजक अर्जुन भन्छन् ।


गाउँपालिकाले भने कार्यापालिकाले तोकेकै ठाउँ पवितामा केन्द्र राखिने बताएको छ । गाउँसभाले निर्णय गरिसकेकाले उक्त निर्णय फेरबदल नहुने सुर्नया–४ का वडाध्यक्ष दिनेशप्रसाद भट्टले जनाए ।