close

फाल्गुनन्द गाउँपालिकाकाे केन्द्र नै बैंकविहीन 

फाल्गुनन्द गाउँपालिकाकाे केन्द्र नै बैंकविहीन 

Trulli
ADVERTISEMENT

पाँचथर - पाँचथरको फाल्गुनन्द गाउँपालिकामा बैंक तथा वित्तीय संस्था नहुँदा नागरिकलाई समस्या भएको छ । हाल पालिका केन्द्र सञ्चालनमा रहेको घुर्बिसे बजारमा कुनै पनि बैंकका शाखा छैनन् । 


गाउँपालिकाले राँके बजारमा रहेको इन्भेस्टमेन्ट बैंकको शाखाबाट कारोबार गरिरहेको छ । । मेची राजमार्गमा पर्ने राँके बजारदेखि हाल केन्द्र सञ्चालनमा रहेको घुर्बिसे पञ्चमी बजार ९ किलोमिटर टाढा पर्छ ।  पहाडको कच्ची बाटो भएकाले केन्द्रदेखि बैंकसम्म पुग्न सकस हुन्छ । सर्वसाधारण बखायाममा हिँडेरै बैंकमा जानुपर्ने अवस्था छ ।


गाँउपालिका केन्द्रमा सरकारी काम पूरा गरेर चेक साट्न, रकम जम्मा गर्ने आदिका लागि समस्या हुने गरेको स्थानीय बताउँछन् । राजस्वसमेत झोलामा बोकेर बैंकसम्म पुग्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।


बैंक टाढा हुँदा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए । ‘भुक्तानी, राजस्वसहित अन्य काममा बैंक टाढा हुँदा समस्या भएको छ,’ उनले भने ।


हाल बैंक भएको राँकेबजार इलामसँग सीमा जोडिएको छ । सुरक्षाको हिसाबले प्रहरी चौकी तथा कारोबार पनि राम्रो हुने पुरानो ग्रामीण बजार भएकाले घुर्बिसे पञ्चमीमै बैंक सञ्चालमा ल्याउनुपर्ने स्थानीयको माग छ ।


गाउँपालिकामा विषयगत कार्यालयका साथै व्यावसायिक गतिविधि पनि राम्रो हुने भएकाले स्थानीय स्तरमा बैंकको आवश्यकता महसुस भएको स्थानीय सञ्चारकर्मी युद्ध बोहरा बताउँछन् ।


यो बजारमा पाँचथर तथा इलामका विभिन्न क्षेत्रका बासिन्दाले आर्थिक कारोबार गर्छन् ।