close

बुटवलमा स्थापना भो जैविक कृषि उपज संकलन केन्द्र

बुटवलमा स्थापना भो जैविक कृषि उपज संकलन केन्द्र

Trulli
ADVERTISEMENT

रूपन्देही–बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रवद्र्धित जैविक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । बुटवल उपमहानगर वडा नम्बर १५ मा रहेको उक्त केन्द्रको उप–महानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उत्पादक पनि कृषक र सञ्चालक पनि कृषक नै रहने गरी यो केन्द्र स्थापना गरिएको हो ।


प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरी कार्यक्रम अगाडि बढाइएको हो । हालसम्म करिब १७ लाख रुपैयाँ लगानी भएको छ । यहाँ सफ्टवेयरबाट कार्यक्रम सञ्चालन हुनेछ । कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोबाइलमा म्यासेज जाने र रकम बैंक खातामा जम्मा हुनेछ ।यसको सदस्यता लिन बुटवल क्षेत्रभित्रका न्यूनतम ३ सय केजी तरकारी वर्षमा दिन पर्ने व्यक्तिगतको हकमा र समूहको हकमा भने १० हजार किलो दिने मात्रै सेयर लिन सक्ने प्रावधान छ । 


स्थानीय स्तरमा उत्पादित तरकारि मसला र फलफूल बाली स्थानीय स्तरमा संकलन गरी उचित वजार व्यवस्थापन गरेर साना कृषकलाई प्रत्यक्ष राहत दिने गरी यो केन्द्र अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । उत्पादनमा आधारित अनुदान, ढुवानी अनुदानजस्ता प्रोत्साहन कार्यक्रमले कृषकलाई प्रोत्साहन मिलेको अध्यक्ष मालीको भनाइ छ । बालीपात्रोअनुसार तरकारी लगाउने, बाली उत्पादनको अग्रिम सम्झौता गर्ने, माटो उपचार, बिउ, रोग किरा व्यवस्थापन, बिरुवा उत्पादनजस्ता कार्यसमेत केन्द्रले गर्नेछ । हरेक दिन बिहान ७–९ र बेलुका ३–५ बजेसम्म तरकारी संकलन गरिने अध्यक्ष मालीले जानकारी दिए ।

 

जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

बुटवल उपमहानगरले कृषि कर्ममा युवालाई आकर्षित गर्ने गरी जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई कृषिमा आकर्षित गरेको छ ।


अहिले महामारीले कृषि कर्ममा धेरैको आकर्षण बढाइरहेका बेला बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै सहरी कृषि प्रवद्र्धनका नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ । उपमहानगरले आव २०७५÷७६ देखि नै बुटवलका बाँझो जग्गा तथा खेती नगरिएका जग्गा सदुपयोग गरी कृषि उपजको उत्पादकत्व वृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो चरणमा प्रतिकठ्ठा १ हजार रुपैयाँका दरले भाडामा अनुदान दिने नीति बनाइएको छ । 

 

बजार क्षेत्रमा कौसी तरकारी खेती 

बजार क्षेत्रका घरमा कौसीमै तरकारी तथा साना फलफूल खेती गर्न मिल्ने गरी बुटवलले तालिम र प्रशिक्षणसमेत दिएको छ । तालिम र प्रशिक्षण लिएकाले घरका छत र कौसीमा नमुना खेती गरिरहेका छन् ।


बजार क्षेत्रका सबै वडामा खाद्य, पोषण तथा कौसी खेती कार्यक्रम सञ्चालित छ । यसका लागि २५ जना स्रोत व्यक्ति तयार पारेर कौसी खेतीमा सहजीकरण गरिएको छ । जग्गा नहुनेलाई तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन कौसी खेतीको अवधारणा अगाडि सारिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।  कृषि बाली उत्पादन, प्रशोधन तथा बजारीकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको उनको दाबी छ । 

 

फसल धितो राखेर सहुलियत ऋण

बुटवलले सुरु गरेको कृषकको फसल धितो राखेर ऋण दिने कार्यक्रम नौलो हो । कृषकलाई गुणस्तरीय बिउसमेत प्रदान गरिँदै आएको छ ।  कृषकले उत्पादन गरेको धान तथा गहुँको मूल्यांकन गर्दै उनीहरूलाई पायक पर्ने सहकारीमार्फत फसल धितो राखेर ऋण उपलब्ध गराइँदै आएको छ ।

 

उत्पादित खाद्यबाली, धान र गहुँको बिउलाई सहकारीले गोदाममा भण्डारण गर्दै कृषकलाई आवश्यक ऋण उपलव्ध गराइएको छ । बुटवल वडा नम्बर १७ मा रहेको सिम्रिक र वडा नम्बर १६ को आदर्श कृषि सहकारीसँग उपमहानगरले सहकार्य गरेको छ ।


सहकारीमार्फत धान, धानको बिउ, १ सय मेट्रिक टन गहुँ र गहुँको गुणस्तरीय बिउ भण्डार गरिएको थियो । अब नयाँ धान उत्पादन भएपछि त्यहीँ भण्डारण गरिनेछ । कृषकलाई फसलका आधारमा आवश्यक सहुलियत दरको ऋण प्रवाह गरिँदै आएको यो कार्यक्रम मुलुकमै पहिलो हो । 

 

अब आत्मनिर्भरको नीति 
बुटवलले आगामी आर्थिक २०७८÷७९ मा ‘के पाइन्छ होइन, के चाहिन्छ’ को नीति अवलम्बन गर्दैै कृषि क्षेत्रमा आत्मनिर्भर गराउने खाले कार्यक्रम बनाएको छ । कृषि वस्तुको संकलन, प्रशोधन, सञ्चय र ढुवानी आदि कार्यका लागि प्रदेश तथा केन्द्र सरकारको सहकार्यमा प्रदेश स्तरीय कृषि थोक बजार नगरभित्र स्थापना गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्ने उपमहानगरको योजना छ ।


उर्बर कृषि भूमि तथा सावर्जनिक जग्गालाई गैरकृषिको रूपमा प्रयोगमा ल्याउन निरुत्साहित गर्दै फलफूल तथा सुहाउँदो बाली क्षेत्र विस्तार गर्दै कृृषिका कुनै न कुनै उपजमा आत्मनिर्भर बन्ने उपमहानगरको योजना छ । पशु नश्ल सुधार कार्यक्रम, पशुपक्षी विकास तथा पशु स्वास्थ्य कार्यक्रम तथा पशुपक्षी कृषक पहिचान कार्यक्रम जारी रहेको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ ।