close

प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही 

प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही 

Trulli
ADVERTISEMENT

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् ।    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा  २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरे । ‘सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव छ’, उनले भने, ‘यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य छ ।’

 

मुख्यमन्त्री शाहीले सडक निर्माण गर्नु मात्रै विकास हो भन्ने बुझाई नागरिकमा व्याप्त रहेको बताए । रोजगारीसहितको व्यापारिक योजनाबाट आम नागरिकमा सन्तुष्टि दिनु र आर्थिक गतिविधि बढाउनु पनि विकास होे भन्ने बुझ्न सुझाउँदै उनले कर्णालीमा विभिन्न क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई अनुकूल वातावरण तयार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए  ।

 

निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको यो प्रदेशकै पहिलो ‘कर्णाली मल’ को प्रारम्भमा ५० जना युवालाई रोजगारी दिएको मलका प्रबन्ध निर्देशक सुशील शर्माले बताए । कर्णालीको सापेक्षतालाई अध्ययन गरी यहाँका नागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गर्ने र दशवटै जिल्लामा सुविधा सम्पन्न कम्प्लेक्स बनाएर स्थानीय उत्पादनलाई व्यवस्थापन गर्ने उद्देश्यले मल सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक शर्माले बताए ।     उनका अनुसार दसैँ तिहारलाई लक्षित गरेर खाद्य वस्तुमा दुई र लत्ताकपडालगायत अन्यमा १०–१५ प्रतिशत छुट दिइएको छ । मलले विद्युतीय सामग्री, भाँडाकुँडा, लत्ताकपडा, सबै प्रकारका खेलौना बिक्रीवितरणका साथै उपभोक्ताका लागि होटल पनि सञ्चालन गरेको छ ।