close

कोरोना महामारी नियन्त्रणमा संघ र प्रदेशको सहयोग शून्य

कोरोना महामारी नियन्त्रणमा संघ र प्रदेशको सहयोग शून्य

Trulli
ADVERTISEMENT

रामेश्वर श्रेष्ठ
नगरप्रमुख, महालक्ष्मी नगरपालिका, ललितपुर 


हामीले कोरोना नियन्त्रणमा अलिक फरक तरिका अपनायौँ । सुरुमा कोरोनाको हल्ला सुरु भएदेखि हाम्रा स्वास्थ्यकर्मीलाई तालिम दियौँ । विज्ञ र विशेषज्ञ ल्याएर रोगबारे जानकारी दियौँ । त्यसपछि सुरक्षाका लागि स्वास्थ्यकर्मीका लागि पिपिई प्रयोग गरेर उहाँहरूमार्फत स्वास्थ्य सेविकालाई तालिम दियौँ । अनि, वडाका जनप्रतिनिधिलाई दियौँ । त्यसपछि सबैमा हामीले जनचेतना फैलायौँ ।


हाम्रो नगरमा पहिलो लहरमा असारसम्म कोरोना देखिएको थिएन । त्यसपछि केही स्वास्थ्यकर्मीमा संक्रमण भयो र त्यसैबाट फैलियो । हामीले संक्रमण देखिएपछि ट्रेसिङको काम गर्‍यौँ । पिसिआर परीक्षण धेरैभन्दा धेरै गर्‍यौँ । नेगेटिभ आउनेलाई सजग बनायौँ । पोजेटिभ आउनलेलाई अस्पताल पठायौँ । धेरैभन्दा धेरै परीक्षणपछि नेगेटिभ आयो । लकडाउनको अवस्था थियो र बाहिरबाट मान्छे आएका थिएनन् । जब उपत्यका खुल्यो, बाहिरबाट आउने मान्छेलाई पनि क्वारेन्टाइनमा राख्यौँ । कन्ट्याक्ट ट्रेसिङ गर्‍यौँ  । संक्रमितलाई उपचार गराउन ३० बेडको अक्सिजनसहितको अस्पताललाई आइसोलेसन बनायौँ । यसले हामीलाई दोस्रो लहरमा पनि सहज भयो । यो अवधिमा गर्भवती, अपांग, बालबालिकालाई खाद्यान्न कार्यक्रम राखेका थियौँ । 


दोस्रो लहरमा पनि हामीले कोभिड फोकल पर्सन तोकेर काम गर्‍यौँ । होम आइसोलेसनमा बस्नेका लागि परामर्श दिन फोन सेवा राख्यौँ । कोभिडको कारणले हुने मानसिक स्वास्थ्यलाई ख्याल गर्दै मनोचिकित्सकको परामर्शसम्मका कार्यक्रम राखेका थियौँ । हाम्रो आइसोलेसन बेड अहिलेसम्म पनि तयार छ । तेस्रो लहरको सम्भावनाको हल्ला भएकाले अहिलेसम्म हटाएका छैनौँ । 


कोभिडमा स्थानीय सरकारको रूपमा काम गरिरहँदा संघ र प्रदेशको सहयोग केही रहेन । संघले निर्देशन दिने काम मात्रै गरेको छ । संविधानअनुसार महामारी संघको जिम्मेवारी भए पनि कर्तव्य सम्झेर आफैँ काम गर्‍यौँ ।


हामीसँग सुरुमा बजेट थिएन । विपद् व्यवस्थापन र अन्य विकाशस बजेटलाई रकमान्तर गरेर कोभिडमा खर्च गरेका थियौँ । निर्वाचित जनप्रतिनिधिको एक महिनाको तलबसमेत दिएर रकम जम्मा गर्‍यौँ ।


गत वर्षबाट हामीले कोभिडलाई प्राथकितामा राखेर छुट्टै बजेट छुट्याएर काम गर्‍यौँ । कोभिडले हाम्रो विकासका कामलाई अवरोध गर्‍यो । बजेट पनि धेरै खर्च भयो । संघले ल्याएको बजेटले स्थानीय सरकारका मागलाई सम्बोधन गर्न सकेको छैन । अनुदानमा ससर्तलाई बढावा दिने गरेको छ । यसका बाबजुद पनि हामीले चार वर्षमा थुप्रै काम गरेका छौँ । स्थानीय सरकारको सुरु कार्यकाल भएकाले हामीलाई नियम कानुन बनाउन थुप्रै चुनौती थिए । ४७ वटा कानुन निर्माण गरिसकेका छौँ । 


पूर्वाधार क्षेत्रमा ४५ किमि सडक कालोपत्रे गरेका छौँ । ८० किमि ग्राभेल गरिएको छ । पार्क निर्माण भएको छ । स्थानीय पाठ्यक्रम लागू गरेका छौँ । खानेपानी व्यवस्था मिलाएका छौँ । यस वर्षको बजेटमा पनि हामीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । कोभिडबाट मृत्यु भएका बच्चालाई १८ वर्षमुनिकालाई वार्षिक २५ हजार रुपैयाँ दिने कार्यक्रम ल्याएका छौँ । उद्यमीका लागि अनुदान, प्राविधि सहयोग गरेका छौँ । फोहोर व्यवस्थापनका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन बजेट छुट्याएका छौँ । यस अवधिमा प्रतिबद्धता गरेर पूरा गर्न नसकिएका काम पनि थुप्रै छन् । मुख्य कुरा हामीले रोशी खोलाबाट खानेपानी ल्याउने भनेका थियौँ, त्यो सकिएन ।