close

कोहलपुरमा आधुनिक बसपार्क बनाउन कोषसँग ऋण सम्झौता

कोहलपुरमा आधुनिक बसपार्क बनाउन कोषसँग ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- शहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बाँकेको कोहलपुरमा सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने उद्देश्यले गत २३ असोजमा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ ।


मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रकै महत्त्वपूर्ण द्वारको रूपमा रहेको कोहलपुरमा बन्ने बसपार्क निर्माणको सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र कोहलपुर नगरप्रमुख लुटबहादुर रावतले हस्ताक्षर गरेका थिए ।


कोषले नगरपालिकालाई बसपार्क निर्माण गर्न २७ करोड ९९ लाख १८ हजार रुपैयाँ ऋण उपलब्ध गराउनेछ  ।


ऋण सम्झौतामा कोहलपुर नगरका वडा- ३ का वडा अध्यक्ष माधव रिजालसमेत सहभागी थिए । कोहलपुर बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत ४६ करोड ६५ लाख ३० हजार रुपैयाँमध्ये ६० प्रतिशत ऋण रकम कोषबाट र ४० प्रतिशत नगरपालिकाबाट व्यहोरिनेछ । 


कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोहलपुरमा बन्ने बसपार्कले पूर्वाधारका रूपमा मात्र नभई यस क्षेत्रकै समष्टिगत आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

 

कोहलपुर नगरप्रमुख रावतले आयोजनालाई गुणस्तरीय रूपमा सम्पन्न गरी समयमै प्रतिफल दिन प्रतिबद्ध रहेको बताए ।