close

सिरिजङ्घाको तेल्लोकमा १० शय्याको अस्पताल बन्दै

सिरिजङ्घाको तेल्लोकमा १० शय्याको अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

फुङ्लिङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो ।

 

आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण÷हिमालयन जेभीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार केही दिन अघिदेखि निर्माण कार्य सुरु भएकामा हालसम्म भवन निर्माण गर्ने ठाउँको जग्गा सम्याउने काम करिब सम्पन्न भएको छ । निर्माण कम्पनीले कामलाई निरन्तरता दिइरहेका पनि घिमिरेले बताए  ।  

 

दश शय्याको अस्पताल भवनसहित चिकित्सक, नर्सिङ आवास, चमेनागृह (क्यान्टिन), शवगृह, पार्किङलगायतका संरचना निर्माण हुने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल निर्माणलाई प्राथमिकता दिएर जुटेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए । अस्पतालले सदरमुकामबाट टाढा रहेका याम्फुदिन, मामाङ्खे, खेबाङ, सुरुम्खिमलगायत पूर्व क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने अध्यक्ष गुरुङको भनाइ छ ।

 

उक्त अस्पताल भवनसहितका संरचना रु १५ करोड ८५ लाख बराबरको लागतमा निर्माण हुने पनि गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  १० करोड ८६ लाख र बाँकी गाउँपालिकाको बजेट रहेको छ । अस्पतालका संरचना १३ रोपनी क्षेत्रफल बराबरमा निर्माण हुने र सो जग्गा तेल्लोकका स्थानीय दामोदर भट्टराई र उनका परिवारले निःशुल्क उपलब्ध गराएका हुन् ।