close

इस्मामा बहुप्राविधिक शिक्षालय

गाउँमै इन्जिनियरिङ पढ्ने सपना पूरा हुँदै

इस्मामा बहुप्राविधिक शिक्षालय

गाउँमै इन्जिनियरिङ पढ्ने सपना पूरा हुँदै

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको इस्मा गाउँपालिका- ३ का विष्णु नेपालीले २०६९ सालमा ठाढुंगा माविबाट दोस्रो श्रेणीमा एसएलसी पास गरे । उनको सोच इन्जिनियरिङ पढ्ने थियो तर जिल्लामा कतै त्यो विषय पढाइ हुँदैनथ्यो । 

 

कमजोर आर्थिक अवस्थाका कारण उनी बाहिर जान सकेनन् । रेसुंगा बहुमुखी क्याम्पसमा गणित मूल विषय लिएर प्लस टु भर्ना भए । नेपाली दुई वर्षमा प्लस टु सकेपछि गाउँ फर्किए । एक वर्षदेखि आफूले पढेकै ठाढुंगा माविमा अध्यापन गराउँदै आएका छन् उनी । 


उनको आठ वर्षसम्म इन्जिनियरिङ पढ्ने सोच खुम्चिइसकेको थियो । तर, गत वर्ष गाउँमै बहुप्राविधिक शिक्षालय संचालन हुने कुरा सुने । अहिले भर्ना नै सुरु भयो । नेपालीले आवेदन पनि दिए । ‘कहिलेकाहीँ कल्पना र संकल्प पूरा हुने दिन आउने रहेछ’, उनले खुसी साटे, ‘मेरा लागि सौभाग्य नै भयो, गाउँमै इन्जिनियरिङ पढ्न पाउने भएँ ।’ 

 

इस्मा गाउँपालिका- ५ मा जीवराज आश्रित बहुप्राविधिक शिक्षालय स्थापना भएको छ । शिक्षालयले अहिलेबाट डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ पढाइ संचालन गर्न भर्ना सुरु गरेको छ । यसले गाउँमै इन्जिनियरिङ पढ्न पाउने आसमा नेपाली जस्ता थुप्रै युवा खुसी छन् ।


शिक्षालयमा गुल्मीको इस्मा, मदाने, मालिका, धुर्कोट र जुम्लाका गरेर ३२ विद्यार्थीले आवेदन दिएका छन् । अहिलेलाई कुमारी निमाविबाट पढाइ संचालन गरिने शिक्षालयका संयोजक कुवेरप्रसाद अधिकारीले जानकारी दिए । यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धनकै भएकाले अध्ययनपछि नापी विभाग, खानी तथा भूगर्भ, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, सडक  निर्माण र कन्स्ट्रक्सन कम्पनी, एनजीओ/आईएनजीओमा रोजगारीको अवसर प्राप्त हुने उनको भनाइ छ । 


प्राविधिक शिक्षालय इस्मा गाउँपालिका- ५ रजस्थलको चाँपटारीमा निर्माण हुँदै छ । त्यसका लागि स्थानीयले आवश्यक ४४ रोपनी जग्गा चाँपटारीमा दिएका छन् ।


स्थानीय प्रशासन मन्त्रालयमा शिक्षालयको नाममा जग्गा प्राप्तिको प्रक्रिया भइरहेको अधिकारीले बताए । शिक्षालयका संयोजक अधिकारीका अनुसार अहिले तीन वर्षे जियोमेट्रिक्स इन्जिनियरिङ मात्र पढाइ हुने भएकाले कुमारी निमाविमा तीन कोठा र चार कोठे ट्रस्ट निर्माण गरेपछि पढाइ संचालन गर्न सकिने हुँदा भर्ना लिइएको हो । 


‘शिक्षालयको आफ्नै संरचना निर्माण भएपछि इलेक्ट्रिकल्स, आर्किटेक्चरल र सिभिल इन्जिनियरिङको विषय थप गर्ने योजना छ’, अधिकारीले भने । अहिले जियोमेट्रिक्स इन्जिनियरिङ र जियोमेट्रिक्स सबइन्जिनियरमार्फत पढाइ संचालन गर्ने योजनामा शिक्षालय रहेको छ ।


‘जियोमेट्रिक्स इन्जिनियरिङ र समग्र प्राविधिक विषय गाउँमा नौलो भएकाले धेरै अन्योलमा छन् । कतिपय शिक्षक, विद्यार्थी र अभिभावकहरू सीटीईभीटी भनेको तालिम मात्र हो भन्ने भ्रममा परेका कारण समस्या छ । प्लस टुकै शिक्षकले तालिम गर्न किन जान्छस् भनेकोसमेत पत्तो पायौँ’, अधिकारीले भने, ‘पहिले त्यो भ्रम त्याग्नुपर्छ ।’


इस्मा गाउँपालिकामा बहुप्राविधिक शिक्षालय संचालन भए पनि जिल्लाका सबै स्थानीय तहका विद्यार्थीका लागि अवसर भएको इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टले बताए ।


स्थायी संरचना निर्माणका लागि अझै केही प्रक्रिया बाँकी भएकाले तत्काल पढाइ संचालन गर्न आवश्यक अस्थायी संरचना निर्माणमा गाउँपालिकाले सहयोग र समन्वय गर्ने उनको भनाइ छ ।