close

ताप्लेजुङका ७ पालिकाले अझै बनाउन सकेनन् नारा

ताप्लेजुङका ७ पालिकाले अझै बनाउन सकेनन् नारा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - एउटा नगरपालिका र आठवटा गाउँपालिका रहेको ताप्लेजुङका ९ वटा पालिकामध्ये २ वटाले बाहेक अरू कुनैले पनि पालिकाको आफ्नै नारा तय नगरेका पाइएको छ । 


पाथिभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकाले मात्र आफ्ना लागि आफैँ नारा तय गरेका छन् । स्थानीय तहको वेवसाइटमा उल्लेख भएअनुसार पाथिभरा याङ्वरकले ‘विकास र सुशासनमा प्राकृतिक स्रोतको उचित उपयोग, जनताको खुसी पाथिभरा याङ्वरकको सोच’ भन्ने नारा तय गरेको छ । 


सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घाको गौरव कञ्चनजंघा’ नारा तय गरेको छ । यीबाहेक फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका, मेरिङ्देन, मिक्वाखोला, मैवाखोला, आठराई त्रिवेणी र सिदिङ्वा गाउँपालिकाले आफ्नै नारा तय गरेका छैनन् । 


लामो समय तत्कालीन जिल्ला विकास समितिको योजना शाखामा रहेर काम गरी अहिले सेवा निवृत्त दुर्गाप्रसाद श्रेष्ठका अनुसार नाराले पहिचान दिलाउने हो । दृष्टिकोण अघि सार्ने हो । त्यसलाई प्रवद्धन गर्न सम्बन्धित निकायले आफ्ना नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्ने हो । तत्कालीन जिल्ला विकास समितिले ‘अलैँची, जडिबुटी र पर्यटन, विकासको माध्यम सुशासन’ नारा तय गरेको उनी सम्झिन्छन् । 


नारा तय गरेपछि आफ्ना दैनिकी र क्रियाकलाप पनि सोहीअनुसार लैजान मद्दत गर्ने उनले बताए । नाराले आफ्नो पालिकाको दृष्टिकोण बताउने मात्र नभई नारामा उल्लेखित शब्दअनुसारका कार्यक्रम तय गर्न आफैँमाथि दबाब सिर्जना गर्ने उनको बुझाइ छ । 


गैरसरकारी संस्था महासंघका सचिव मोहन निरौला नाराले संस्थागत क्रियाकलापका लागि मार्गनिर्देश गर्ने बताउँछन् । ‘अब हाम्रो कार्यशैली, पद्धति र प्रक्रिया के हो भनेर नाराले नै सम्बन्धित पक्षलाई अग्रसर गराउने हो’, उनले भने । तर, नाराअनुसारको कार्यशैली, कार्यपद्धति, कामकारबाही र दैनिकी संचालन नभएमा भने संस्थागत समस्या आइपर्ने उनको बुझाइ छ । 


नारा हुँदैमा सबैथोक पूरा हुने र नहुँदैमा काममा उल्झन नै आइहाल्ने अवस्था नरहे पनि नाराअनुसारको काम गर्न सक्ने निकायले लक्ष्य भेटाउने तर्क उनले गरे । नारामार्फत संस्थागत दृष्टिकोण बाहिर आउने भएकाले यसको आवश्यकता र औचित्य धेरै रहेको सेवा निवृत्त कर्मचारी मातृकाप्रसाद नेपालको तर्क छ । 

 

उनले आफ्नो योजना वा दृष्टिकोण बताउने र समीक्षा/अनुगमन अभियानले आफ्नो योजना वा दृष्टिकोणअनुसार अघि बढे-नबढेको मापन गर्ने भएकाले कार्यका आधारमा नाराको औचित्य पुष्टि हुने बताए ।