close

माडीलाई ‘मणि’ बनाउँदै नगरप्रमुख ढकाल

माडीलाई ‘मणि’ बनाउँदै नगरप्रमुख ढकाल

Trulli
ADVERTISEMENT

चितवनको माडी नगरपालिकामा नेकपा माओवादीबाट नगरप्रमुखको उम्मेदवार बनेका ठाकुर ढकाललाई निर्वाचनमा विजय हुन सजिलो थिएन । ०६२ जेठ २३ मा तत्कालीन माओवादीले यात्रु बसलाई लक्षित गरेर विस्फोट गराउँदा ३८ जनाको ज्यान गएको बाँदरमुढे पनि माडीमै पर्छ । 


अन्तर्राष्ट्रिय रुपमा चर्चा र माओवादीका लागि दुर्नाम क्षेत्र भएकाले उसप्रति जनताको कर्के नजर थियो । माडी र माओवादीबीच पेचिलो बनेको रिसराग त्यही दिनबाट अन्त्य भयो, जुन बेला ठाकुर ढकाल नगरप्रमुखमा विजयी भए ।


पूर्वजनमोर्चा निकटका ढकाल नगरप्रमुखको उम्मेदवार हुनुअघि मात्र एकीकृत माओवादीमा गएका हुन् । माडी नेकपा अध्यक्ष पुष्पकमल दाहालको चुनावी क्षेत्र हो । प्रचण्ड चितवन क्षेत्र ३ मा पर्ने यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि विजयी भएका थिए । 


व्यक्तिगत छवि राम्रो हुनु र पूर्वजनप्रतिनिधि हुँदा स्थानीयसँग हिमचिम भएकाले ढकाल रोजाइमा परे । ढकालसँग यसअघि गर्दी गाविसको दुई पटक अध्यक्ष भएको अनुभव छ । विकट क्षेत्र माडीमा विकासका काम गर्नु ढकालका लागि चुनौती थियो । 


चितवनको दक्षिण सीमामा रहेको माडी  भरतपुरबाट करिब ३८ किमिको दूरीबाट सुरु हुन्छ । पूर्व, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको माडी  उपत्यका विकासका हिसाबले धेरै पछाडि थियो । अहिले पनि छ । माडीको बाँदरझुला बस्तीमा कच्ची सडक भए पनि निकुञ्जको अवरोधका कारण सवारी साधन चल्न पाउने अवस्था थिएन । 


तत्कालीन गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविस रहेको यस क्षेत्रलाई एकीकृत रुपमा माडी क्षेत्र भनिएको र सरकारले ०७१ मंसिर १६ देखि ४ वटै गाविस मिलाएर माडी नगरपालिका घोषणा गरेको थियो । थारु बस्तीको माडीमा अन्य जातजातिको पनि बसोबास छ ।


चितवन निकुञ्जको कहर, नजिकै रहेको रियु खोलाको कटान, बेलामौकामा सोमेश्वर क्षेत्रमा भारतसँगको सीमा विवाद, मानव र वन्यजन्तुको द्वन्द्व ढकालका लागि चुनौती थियो । कालोपत्रे सडक नभएको, विद्युत् सुविधा नभएको, राज्यका निकायको कम उपस्थिति भएको क्षेत्र माडीबासीलाई स्थानीय सरकारको अनुभूति दिलाएर मात्र पुग्ने अवस्था थिएन । 


चितवनकै भूभाग भए पनि निकुञ्ज पार गरेर आउजाउ गर्दा अर्कै जिल्लाजस्तो, सेनाको हप्कीदप्कीजस्ता सकस व्यवस्थापन गर्न ढकाले ठूलै पापड बेले । वन्यजन्तुको त्रासमा बाँच्न विवश माडीबासी सुगम जिल्लाका भएर पनि समस्याका पहाडसँग जुध्नुपथ्र्यो । 


ढकाल नगरप्रमुखमा निर्वाचित भएर आएपछि बाँदरझुला बस्तीमा बस चल्न थाले, निकुञ्जभित्रको लगभग १० किलोमिटर सानो सडकलाई आठ मिटर फराकिलो बनाए । माडी क्षेत्रका जनताले उपभोग गरेका फर्निचर बसाइँ सरेर जाँदा लैजान पाउने बन्दोबस्त मिलाए । 


रियु खोलाको कटानले माडीका ८  वडा प्रभावित छन् । ९ वडा रहेको नगर क्षेत्रमा वडा– ५ बाहेकका सबै वडामा रियु खोलाको कष्ट छ । १४ करोड रुपैयाँमा रियु खोलामा तटबन्ध बाँधिदिएसँगै अहिले समस्या सल्टिएको नगरप्रमुख ढकाल सुनाउँछन् ।


भारतीय पक्षबाट सीमामा किचलो भइरहेको माडीको सोमेश्वरगढीमा उनले ढुंगेमूर्तिको संग्रहालय नै बनाए । अहिले यो क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो बनेको छ । सोमेश्वरगढीको फेदीबाट मन्दिरसम्म जाने पैदल मार्गमा ढुंगाका आकर्षक मूर्ति कुँदिएका छन् ।  


कोराना कहरको समयमा आफ्ना नागरिक लिन ढकाल सवारीसाधन लिएर सीमासम्म आफैँ पुगे । नगरपालिकाले कोरोनाको पिसिआर परीक्षणका लागि किट खरिद गर्न १० लाख बजेट छुट्यायो । माडी क्षेत्रका कोरोना संक्रमितको निगरानीसहितको व्यवस्थापन गर्न जिल्लामा पहिलो पटक आइसोलेसन उनै ढकालले बनाएका थिए । 


ढकालले निकुञ्ज ऐन, २०२९ लाई मानवोपयोगी हुने गरी ११ सूत्रीय संशोधनको माग राख्दै आएका छन् । आमरण अनशनसम्मको घोषणा गरिसकेका थिए । पूर्वप्रधानमन्त्री केपी ओलीसँग छलफल गरेपछि मात्र अनशन स्थगित गरेको ढकाल सुनाउँछन् ।


कालोपत्रे पक्की सडक नभएको नगरपालिकामा ढकाल नगरप्रमुख भएर आएपछि नगरभित्रका सडक कालोपत्रे भएका छन् । ‘माडीको वनकट्टादेखि बगईसम्मका १२ खोलामा पुल बनेको छ । साना तथा हलुका सवारी साधन सहजै गुड्न सक्ने गरी माडीका भित्री गाउँसम्मै सडकको स्तरोन्नति गरिएको नगरप्रमुख ढकालले बताए ।


नगरपालिकाले किसानका सबै खाले तरकारी खेतीमा गरिने बिमामा २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । दूधमा प्रतिलिटर ३, खसीबोकामा प्रतिकेजी २५, सबै खाले तरकारीमा प्रतिकेजी ३, काउलीमा ५, च्याउमा प्रतिकेजी ५, गोलभेडामा प्रतिकेजी ५ रुपैयाँ अनुदानसहित प्रतिगाईभैंसीको सुत्केरी खर्च १ हजार अनुदान दिने व्यवस्था मिलाइएको ढकाल बताउँछन् । 


नगरपालिकाले विदेशबाट फर्किएका वा स्वदेशमै रहेका युवा लक्षित कृषि व्यवसायका लागि ४ प्रतिशत ब्याजमा ऋण, युवा स्वरोजगारलाई प्रवद्र्धन गर्न शून्य प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था गरेको छ ।


माडी स्थायी घर भएकालाई नेपालभर जहाँकहीँ उपचार गर्दा पनि आवश्यक रगत नगरपालिकाद्वारा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका ढकालले यहाँका ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा भाडा निःशुल्क गराएका छन् । 


मुटु, मिर्गाैला तथा क्यान्सरका बिरामीलाई उपचारका लागि प्रतिबिरामी २० हजार दिने व्यवस्था मिलाएका ढकालले प्राकृतिक प्रकोप तथा जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चबापत २५ हजार नगरपालिकाबाटै  उपलबध गराउने व्यवस्था मिलाएका छन् । 


ढकालले अभिभावक नभएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन उनीहरूकै नाममा बैंक खाता खोली ५ लाखको शैक्षिक कोष स्थापना गरेका छन् । नगरपालिकाले विपन्न तथा दलित परिवारको १ लाखसम्मको स्वास्थ्य बिमा, गर्भवती महिलाको ४ पटकसम्म सबै गर्भ परीक्षण निःशुल्क र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको ढकाल सुनाउँछन् । 


दलित र गैरदलितबीच बिहे गर्ने जोडीले जीविकोपार्जनका लागि गर्ने कुनै पनि व्यवसायमा १ लाख प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्थासहित परिवारमा २ छोरी मात्रै भएकालाई माडीमै अध्ययन गर्दा १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाएका छन् । अति विपन्न परिवारका एमबिबिएस तथा इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीलाई १ लाखको अध्ययन प्रोत्साहन रकम प्रदान गरिने ढकाल बताउँछन् । 


सानो छँदा माडीबाट ट्याक्टर चढेर धुलो हुँदै नारायणगढ बजार पुग्दा बजारियाले ‘माडीका बाँदर आए’ भनेर जिस्काएको क्षण ढकाल कहिल्यै बिर्सन चाहँदैनन् । 
हिजो बाँदरको उपाधि दिने बजारियाले माडीबासीलाई इज्जत दिन सक्ने गरी यस क्षेत्रको विकास अभियानमा लागेको ढकालको तर्क छ । ‘अब माडीलाई नेपालको ‘इको सहर’ को रुपमा विकास र ‘पर्यटन थलो’ मा अगाडि बढाउने लक्ष्य छ’, ढकालले भने । जीवनको लामो समय आफ्नै घरआँगन वरपर बिताएका ढकालले माडीलाई मणि बनाएपछि मात्रै विश्राम लिन सोच रहेको बताउँछन् ।