close

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक : गाउँबस्तीमा पुग्न थाले गाडी 

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक : गाउँबस्तीमा पुग्न थाले गाडी 

Trulli
ADVERTISEMENT

बागलुङ–  असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् ।

 

स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर स्काभेटर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएका स्थानीय सडक दसैँको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैंँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् । 

 

जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । 

 

ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । 

 

गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दसैँमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका– ७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘‘करिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए ।  वर्षा केही कम हुन थालेकाले अब ठूलो समस्या नआउने जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बताए ।