close

हलेसी तुवाचुङमा कपास खेतीका लागि १० लाख विनियोजन 

हलेसी तुवाचुङमा कपास खेतीका लागि १० लाख विनियोजन 

Trulli
ADVERTISEMENT

खोटाङ - कपास खेतीलाई प्रवर्द्धन गर्नका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बजेट व्यवस्था गरेको छ । खाँडीको कपडा उत्पादन गर्ने घरेलु उद्योगलाई प्रवर्द्धन गर्नका लागि नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो । 


खाँडीको कपडा उत्पादन गर्न प्रयोग हुने कपास उत्पादनका लागि आर्थिक वर्ष २०७७/०७८ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताइन् । संकटमा पुगेको पुर्ख्याैली व्यवसायलाई जगाउनका लागि नगरपालिकाले कपास खेतीका लागि बजेट विनियोजन गरेको हो । 


बाबुबाजेको पालासम्म हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न वडामा कपासबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएकामा हाल कपासबाट कपडा उत्पादन हुन छाडेको छ । लोपोन्मुख बनिसकेको खाँडीको तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ । 


कपास खेती गर्ने क्षेत्र भने छनोट गर्न बाँकी रहेको उपप्रमुख राईले बताइन् । ‘कपास खेतीका लागि बजेट व्यवस्था गरेका छौँ । उपयुक्त ठाउँको खोजी गरिरहेका छौँ’, उपप्रमुख राईले भनिन्, ‘अध्ययनका लागि बोलाइएका कृषि प्राविधिक आएर फर्किसकेका छन् ।’ 


११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा वडा- ७ महादेवस्थान कात्तिकेको एउटा घरमा भने हालसम्म कपासबाट खाँडीको कपडा उत्पादन हुँदै आएको छ । कोगटी र ढ्यांग्रे कपासबाट स्थानीय जुनासरी राईले खाँडीको कपडा उत्पादन गर्दै आएकी छन् । 


कोगटी र ढ्यांग्रे खेती गरेर कपास निकालेर कपडा तयार पर्ने जुनासरी वडाकै एक्ली हुन् । कपडा बुन्ने सीप जोगाउनका लागि उनले आफ्नी नातिनीलाई सीप सिकाइसकेकी वडा अध्यक्ष चइन्द्र राईले बताए । कात्तिकेमा जुनासरीसहित लीला राई, शान्ति राईलगायतले कोगटी र ढ्यांग्रे कपास खेती लगाउँदै आएका छन् । 


गाउँमा उत्पादित कपास जुनासरीले खरिद गरेर कपडा तयार पारेर बिक्री गर्ने गरेकी छन् । जुनासरीले कोगटीको कपास प्रतिधार्नी एक हजार र ढ्यांग्रे कपास प्रतिधार्नी ७०० रुपैयाँमा खरिद गर्ने गरेकी छन् । कात्तिकेमा ढ्यांग्रे कपासबाट उत्पादन गरिएको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान २० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । 


कोगटीको कपडाको माग उच्च भए पनि माग धान्न नसकिएको जुनासरीको भनाइ छ । कपास खेतीका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १५ जना महिलालाई कपास खेती प्रवर्द्धनका लागि एक लाख रुपैयाँ खर्च गरेको थियो । ‘कोगटीबाट धागो उत्पादन गर्न सबैभन्दा झन्झटिलो हुन्छ र बढी मिहिनेत चाहिन्छ’, वडा अध्यक्ष राईले भने, ‘तर, कोगटीको कपडाको बढी नै माग छ । माग धान्नै गाह्रो देखिन्छ ।’