close

सिरहाका पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन  

सिरहाका पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन  

Trulli
ADVERTISEMENT

सिरहा- सिरहाको पाँच वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ । पूर्वपश्चिम हुलाकी राजमार्गसँग जोडिएको सिरहा नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरही गाउँपालिका तथा सिरहा नगरपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न लागिएको हो । 

 

आयोजनाअन्तर्गत बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने आर्थिक करिडोर प्राविधिक तथा समन्वय समितिका सदस्य सचिव  चन्द्रप्रसाद रिसालले जानकारी दिए । हुलाकी सडक आसपासका स्थानीयवासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको सदस्य सचिव रिमालले बताए । 

 

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनका लागि नेपाल सरकार र विश्व बैंकबीच २०७७ पुस ६ गते सम्झौता गरिएको र सोही कार्यक्रमअन्तर्गत प्रदेश २ को ८ वटै जिल्लामा २०२५ सम्म कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । प्रदेश २ का ८४ स्थानीय तहमा पूर्वमा सप्तरी र पश्चिममा पर्साका गरी आठ वटा जिल्लामा हुलाकी राजमार्गसँग जोडिएको पालिकामा सो कार्यक्रम सञ्चालन हुने  छ । 

 

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो भागअन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रोमा विद्यमान सङ्घीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढावा दिने, तेस्रोमा कोभिड-१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति श्रृङ्खला तथा स्थानीय अर्थतन्त्रलाई पुनःरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन गरिनेछ । यस्तै चौथोमा परियोजनाको कार्यान्वयन, खरिद तथा आर्थिक व्यवस्थापन, सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन तयारी एवं तालिम क्रियाकलाप सञ्चालन गरिने जनाइएको छ ।