close

‘जनता हाम्रा भगवान् हुन्’

‘जनता हाम्रा भगवान् हुन्’

Trulli
ADVERTISEMENT

बमबहादुर भट्टराई (तारा), उपप्रमुख
फुङलिङ नगरपालिका, ताप्लेजुङ

 

सशस्त्र युद्धकालमा माओवादी जनसेनामा लडाकु थिएँ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिका उपप्रमुख बनेँ । निर्वाचित भएपछि जनताका दुःखसुख, समस्या, आवश्यकता र भावना नजिकबाट बुझ्ने अवसर पाएँ । जनतासँग प्रत्यक्ष साइनो राख्न सक्ने र जनताका आधारभूत आवश्यकता बुझ्न सक्ने क्षमता स्थानीय सरकारमा हुन्छ र हुनुपर्छ भन्ने मेरो मान्यता हो । तर, अझै पनि आर्थिक, सामाजिक, राजनीतिक, वैचारिक र भौतिक विकासले भनेजस्तो फड्को मार्न सकेको छैन ।

 

विकास भन्नेबित्तिकै सडक, भवन र पुलपुलेसा आदि पूर्वाधार केन्द्रित कार्यमा मात्रै स्थानीय सरकारका जनप्रतिनिधिको ध्यान जाने गरेको छ । जनप्रतिनिधिले आफूलाई सेवक ठाने मात्र जनता सेवाग्राही हुने रहेछन् । जनता हाम्रा लागि भगवान् हुन् । जनता खुशी नभए कुनै कार्य सफल हुन सक्दैन । अनावश्यक आश्वासन दिएर जनतालाई ढाँट्नु, आडम्बर गर्नु, पूर्वाग्रही बन्नु जनप्रतिनिधिलाई सुहाउँदैन । समाज र परिस्थितिअनुसार आपूmलाई बदलेर जनमैत्री बन्न सक्ने क्षमता विकास गर्न सके मात्र जनप्रेमी सेवक बन्न सकिन्छ । 

 


मेरो पहल र अगुवाइ थुप्रै काम भए पनि त्यसको श्रेय नगरपालिकाको सिंगो टोलीलाई दिन चाहन्छु । नगरपालिकाको आन्तरिक राजस्वमा करिब तीन गुणा वृद्धि गरी १ करोड ६० लाख रुपैयाँसम्म पु¥याउनु, कर संकलन हुने वा प्रभावित हुने समुदायका सदस्यसँगै बसेर उनीहरूकै समझदारीमा करको दर निर्धारण गरिनु, प्राकृतिक स्रोतलाई राजस्वको दायरामा ल्याएर स्रोत दोहनलाई नियमन र व्यवस्थित गर्नु आदि कार्यलाई अगाडि बढाएका छौँ । 

 


वडाका करिब चार सय घरधुरीमा शुद्धपानी पुर्‍याउन सक्यौँ । विभिन्न स्थानमा खेलमैदान, खोप केन्द्र सहितका स्वास्थ्य संरचना जनप्रतिनिधि आएपछि निर्माण भए । त्यसबाहेक शिक्षा, सामुदायिक भवन, सडक, कच्ची मार्ग र जनताको चेतना परिवर्तनका लागि नगरपालिकाले उच्च लयमा काम गर्दै आएको छ । सामाजिक सुरक्षा कार्यक्रममा ६० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ताको व्यवस्था, स्वास्थ्य संस्थामा गई प्रसूति गराउने महिलालाई पाँच सय रुपैयाँ अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था नगरपालिकाले गरेको छ । 

 


नगर क्षेत्रलाई चियामा आत्मनिर्भर बनाउन निःशुल्क रूपमा चियाका बिरुवा वितरण गर्छौं । नगरपालिकालाई ऐन–नियम, कार्यविधि लगायतले भरिपूर्ण बनाउने, उपचार सेवालाई थप प्रभावकारी बनाउन विभिन्न निकायसँग समन्वय गरी कार्यक्रम गरिरहेका छौँ । 


यति हुँदाहुँदै पनि स्थानीय सरकारलाई जनताकै आधारभूत आवश्यकता पूरा गर्ने निकायको रूपमा विकास गर्न सकेका छैनौँ । यस कार्यमा अझै समय लाग्ने देखिन्छ ।  सीमित स्रोतसाधनका कारण एकैपटक जनताका सबै आवश्यकता पूरा गर्न सकेका छैनौँ । तर, जनताका आधारभूत आवश्यकता हाम्रो प्राथमिकतामा छन् ।