close

इस्मा गाउँपालिकाका पहिरोपीडितले पाए सहयोग

इस्मा गाउँपालिकाका पहिरोपीडितले पाए सहयोग

Trulli
ADVERTISEMENT

गुल्मी - हस्तिचौर ट्रष्ट काठमाडौंले हस्तिचौरका पहिरो प्रभावितलाई राहत प्रदान गरेको छ । इस्मा गाउँपालिका- १ हस्तिचौरको वडा कार्यालयमा ट्रष्टले ९८ जना पहिरो प्रभावितलाई राहत दिएको हो । 


ट्रष्टका अध्यक्ष भूपाल केसी र वडा अध्यक्ष चुराबहादुर खत्रीले क वर्गका दुई, ख वर्गका ३३, ग वर्गका २३ र घ वर्गका ४० जनालाई राहत हस्तान्तरण गरेका थिए । क, ख, ग र घ वर्गका पहिरो प्रभावितलाई क्रमशः आठ, चार, दुई र एक हजार ५०० रुपैयाँ प्रदान गरिएको ट्रष्टका अध्यक्ष केसीले जानकारी दिए । 


उनले ट्रष्टले सुरु गरेको अभियानमार्फत सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्दै प्राप्त रकम दुरूपयोग नगर्न पहिरो प्रभावितलाई आग्रह गरे । त्यस्तै, वडा अध्यक्ष खत्रीले हिजो आकाशमा बादल देखे आँखामा आँसु चुहाउने पहिरोपीडित परिवार आज खुसी देख्दा अत्यन्तै आनन्द लागेको बताए । 


गत ६ र १८ असारको पहिरोका कारण इस्मामा तीन जनाको ज्यान जानुका साथै करिव डेढ सय घर परिवार विस्थापित भएका थिए ।

 

पहिरोका कारण पूर्ण रूपमा घरमा क्षति भएकाहरूको पुनस्र्थापना गर्न अहिले जग्गा पहिचान र पीडित परिवारलाई सहजीकरण गर्ने काम इस्मा गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए ।