close

आर्थिक अभावले सोचेअनुसार काम गर्न सकिएन

आर्थिक अभावले सोचेअनुसार काम गर्न सकिएन

Trulli
ADVERTISEMENT

नगरप्रमुख, मुसीकोट नगरपालिका, गुल्मी


मुसीकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा नगर विकासका लागि आवश्यक पर्याप्त बजेट नहुँदा सोचेअनुसारको काम गर्न नसकिएको बताउँछन् । नगर प्रमुख सापकोटासँग जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव, मुसीकोटको विकास निर्माणलगायत विषयमा गरिएको कुराकानी ः


नगर प्रमुखका रूपमा चार वर्ष काम गर्दाको अनुभव कस्तो रह्यो ? 


निर्वाचित भएर आएको चार वर्ष बित्यो । यो वर्षको अन्तिमसम्म निर्वाचन हुनेछ । यो नयाँ नगरपालिका हो । हामीले नयाँ भएकाले सबै काम सुरुबाटै गर्नुपर्‍यो । कार्यालय निर्माणदेखि सबै सेवा–सुविधा दिन सक्ने स्थानीय तह बन्नुपर्ने भएकाले हामीले त्यसतर्फ ध्यान दिऔँ । जनताले परिवर्तनको अनुभूति हामीसँगै गरेका छन् । जनतासँगको नजिक भएको सरकार भएकाले पनि स्थानीय सरकारलाई नै बढी विश्वास गरे । तर, हामीले कर्मचारी र आर्थिक अभावका कारण चाहेजति काम गर्न सकेनौँ । 

 

चार वर्षमा मुसीकोटबासीले अनुभव गर्ने खाले के परिवर्तन भए ? 


हामी निर्वाचित भएर आएपछि सय दिने कामको योजना बनाएर सबै घरमा बत्ती पुर्याउने काम ग¥यौँ । नगरभित्रका ४९६ घरधुरीमा बत्ती पुगेको थिएन । हामीले सबै ठाउँमा बत्ती पु¥याऔँ । दोस्रो वर्षमा सबै वस्तीलाई सडक सञ्जालमा जोड्न सफल भयौँ । तेस्रो र चौथो वर्षमा हामीले खानेपानीमा एक घर, एक धारा कार्यक्रम अघि बढाएका छौँ । लगभग त्यो पनि पूरा हुनेछ । 

 

तपाईंले विकास निर्माणका लागि विशेष पहल गरेको क्षेत्रचाहिँ कुन हो ? 


हामीले सबै क्षेत्रमा काम गर्नुपर्ने बाध्यता छ । प्रत्येक वर्ष कुनै न कुनै एक विषयलाई प्राथमिकता दिनैपर्छ । सबैमा बजेट छु्ट्याए पनि केही योजनामा प्राथमिकता दिनुपर्ने भएकाले जनजीविकाका सवाललाई प्राथमिकतामा राख्यौँ । खरका छानामुक्त नगरपालिका घोषणा गर्ने तयारीमा छौँ ।

 

स्वास्थ्य र शिक्षामा नगरपालिकाले कस्ता योजना अघि सारेको छ ? 


हामीले स्वास्थ्य र शिक्षामा पनि ध्यान दिएका छौँ । नगरपालिका स्थापना भएकै वर्ष ५ वटा स्वास्थ्य इकाइ स्थापना ग¥यौँ । हामीसँग अहिले १२ वटा इकाइ छनु । यहीमार्फत प्रारम्भिक स्वास्थ्योपचार दिएका छौँ । नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण गरिरहेका छौँ । सुत्केरी सेवालाई व्यवस्थित बनाएका छौँ । यसबीचमा हामीले अरू सूचकांक पनि बढाउँदै लगेका छौँ । 

 

स्थानीय जनप्रतिनिधिले आर्थिक अनुशासन उल्लंघन गरेको थुप्रै उदाहरण छन् । तपाईंको पालिकामा बेरुजुको अवस्था कस्तो छ ? 

 

हाम्रोमा जटिल छ । हामीले नियम, नीति, कागज नपु¥याउँदा बेरुजु देखिएको हो । हाम्रोमा ७ करोड रुपैयाँ बेरुजु देखिएको छ । त्यो नियमित गर्नुपर्ने बेरुजु हो । असुलउपर गर्नुपर्ने बेरुजु छ । ५ करोड रुपैयाँ बेरुजु फस्र्योट गर्ने हाम्रो योजना छ । 

 

अन्त्यमा, तपाईंलाई भन्न मन लागेका केही कुरा छन् कि ? 


नगरपालिका स्थापना भएदेखि नै हामीले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेका छौँ । थुप्रै स्वरोजगारका कार्यक्रम अघि बढाएका छौँ । कफी उत्पादन, व्यावसायिक कृषि क्षेत्रका लागि पनि विभिन्न काम गरेका छौँ । हामीले पाँच वर्षअघिको नगरपालिका र हामीले कार्यकाल सकाउँदै गर्दा आधारभूत कामबाहेक जनताको जीविका परिवर्तन हुने गरी थुप्रै काम गरेका छौँ । सयौँ युवा स्वरोजगार बनेका छन् ।