close

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

Trulli
ADVERTISEMENT

जुम्ला– नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि हिँडेको भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको हो ।

 

मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाटप्ले खोलामा नेपालगन्जबाट गमगढी जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्यांकअनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जनाको उद्दार गरी ताल्चा विमानस्थल पु-याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्ज पु-याएपछि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए ।

 

दुर्घटनामा गम्भीर घाइते भएका ४ जना उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारका लागि पठाइएका १६ जना घाइतेमध्येबाट ४ जनाको मृत्यु भएको छ ।

 

‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पु-याउँदैमा मृत्यु भयो । बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौँ । थप ४ जनाको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर आएको छ,’ उनले भने । कठिन र भिरालो भूगोल भएकाले मृतकको संख्या बढी हुन सक्ने प्रहरीको भनाइ
छ ।

 

घटनास्थलमा मृत्यु भएकामध्ये १६ पुरुष, ७ महिला र १ बालक छन् । अहिले १२ जनाको उपचार भइरहेको बाँके प्रहरीले बताएको छ । ३ जना हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समयअघि गाडीबाट ओर्लिएको प्रहरीको भनाइ छ । 

 

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको जानकारी दिए । प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले बताएको छ । 
बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु चढेका थिए ।

 

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकोप्टर र समिट एयरमार्फत नेपालगञ्ज पु-याइएको थियो । मृतक मुगुको गमगढी, छायानाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको प्रहरीले जनाएको छ ।