close

नवरात्रको आठौँ दिन, आज महाअष्टमी

नवरात्रको आठौँ दिन, आज महाअष्टमी

Trulli
ADVERTISEMENT

काठमाडौं– नवरात्रको आठौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विनशुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

 

नवरात्रको पहिलो दिन असोज २१ गते दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।

 

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघन्टाको निष्ठाका साथ पूजाराधना गरियो । चौथो दिन कुष्माण्डाको पूजाराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजा गरियो । छैटौँ दिन कात्यायनी तथा सातौँ दिन कालरात्रि देवीको आराधना गरियो ।

 

बडादसैँको आठौँ दिन आज महागौरी देवीको विशेष पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्र अवसरमा देवीको आराधना गरी पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

 

महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विभिन्न पुराणमा वर्णन गरिएको छ ।

 

सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी, श्वेत वस्त्र धारण गरेकी स्वरूपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गाका यिनै नौ रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेकाे छ ।  भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित मन्दिर  खुला गरिएको छ ।

 

शक्तिपीठमा पूजाआराधना गर्न भक्तजनको भीड लागे पनि यस वर्ष कोरोनाको त्रासले केही असर पारेको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।