close

घोडा दौडाएर मनाइयो जुम्लामा फूलपाती

घोडा दौडाएर मनाइयो जुम्लामा फूलपाती

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा दसैँ फूलपाती अवसरमा घोडा दौड प्रतियोेगिता आयोजना गरिएको छ । कोरोनाका कारण गत वर्षदेखि रोकिएको उक्त प्रतियोगिता यो वर्ष पुनः सुरु भएको हो ।

 

कर्णाली स्पोर्टस् क्लब जुम्लाले आयोजना गरेको खुला घोडा दौड प्रतियोगितामा गुठीचौर वडा नम्बर २ कुडीगाउँका मनसुर बोहराको घोडा प्रथम भएको छ ।

 

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर १ का गडीगाउँका हरि बस्नेतको घोडा द्वितीय भएको छ भने गुठीचौर वडा नम्बर २ लक्ष्मी बोहराको घोडा तृतीय भएको छ । 
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार नगद र मेडल दिइयो ।

 

घोडा दौड परापूर्वकालमा जुम्ली घोडाको महिमाको रूपमा रहिआएको बूढापाका बताउँछन् । हाल लोप हुने स्थितिमा पुगेपछि जुम्ली घोडाको महत्त्व प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

 

उनले भने, ‘यसको इतिहास ठ्याक्कै थाहा छैन । तर यसअघि जुम्ला एयरपोर्ट कालोपत्रे हुनुअघि त्यहाँ घोडा दौड हुने गरेको थियो । ‘हामीले जान्दा विमानस्थल कालोपत्रे नहुँदासम्म घोडा दौड प्रतियोगिता हुने गरेको देखेका थियौँ,’ उनले भने, ‘एयरपोर्ट पिच भएपछि घोडा दौड हुन छाड्यो ।’

 

लामो समयदेखि बन्द जुम्ली घोडा दौड प्रतियोगिता गरी घोडा प्रवद्र्धनमा जोड दिने उद्देश्यले यस्तो कार्य गरिएको उनको भनाइ छ । चन्दनाथ नगरपालिका वडा नम्बर ८ का जयकृष्ण धरालाले कुनै बेला जुम्ली घोडाको माग बढेको सुनाउँछन् । 

 

‘जुम्लामा गाडी नपुन्जेल सामान ढुवानीको कामसमेत घोडाले गर्थे’, उनले थपे, ‘परम्परागत यातायातका साधन पनि घोडा थिए । तर, अब जुम्ली घोडा लोप हुने स्थिति पुगेको छ ।’

 

हरेक वर्ष फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुने गरेको छ । जिम्मेवार निकायले यसको संरक्षण गर्नतर्फ ध्यान नदिएको उनको भनाइ छ । यस पालिको प्रतियोगितामा जिल्लाभरका २० वटा घोडाले भाग लिएका थिए ।

 

प्रतियोगिता ३ विधामा विभाजन गरिएको थियो । घोडाको पालनपोषण, कदम वा चाल र खुला दौड प्रतियोगिता गरिएको हो ।  त्यस्तै, घोडापालनतर्फ पातारासीका एकराज थापा प्रथाम, चन्दननाथका कालीबहादुर बुढ्थापा द्वितीय र गुठीचौरका कालीबहादुर रावत तृतीय भए । 

 

चाल वा कदमतर्फ बिर्खबहादुर भण्डारी प्रथम, कालीबहादुर बुढा द्वितीय र विकास ऐडी तृतीय भए ।