close

स्वामीकार्तिकको झुगलापाटा भीर फुटेपछि कर्णाली थुनिने त्रास

नदी आसपासका बस्ती आसपासका स्थानीयमा त्रास

स्वामीकार्तिकको झुगलापाटा भीर फुटेपछि कर्णाली थुनिने त्रास

नदी आसपासका बस्ती आसपासका स्थानीयमा त्रास

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मा रहेको झुगलापाटा भीर फुटेपछि कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारिपट्टिको भीर फुटेर सुक्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो । 

 

करिब दुई महिना पहिलेदेखि बेलाबेला भीरबाट पहिरो जान थालेपछि नदी थुनिने खतरा बढेको स्थानीयले बताए । दुई महिनायताको लगातार सुक्खा पहिरोले कर्णाली थुनिन थालेपछि नदी आसपास तथा छेउछाउ बसोबास गर्ने स्थानीय त्रसित छन् ।

 

झुगलापाटा भीर फुट्दा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायत आसपास क्षेत्र उच्च जोखिममा परेको बताइएको छ । 

 

बेलाबेला बग्ने पहिरोबाट कर्णाली थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई डरत्रासमा बस्नुपर्ने बाध्यता आइलागेको छ । कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णालीमा सुक्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती जोखिममा परेका हुन् ।

 

स्वामीकार्तिक वडा नम्बर १ रुडीगाउँको तल र छुद्यदरी गाउँ नजिकै सुक्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एक्कासि पहिरो खस्दा दुई दिनअघि १५ मिनेटसम्म कर्णाली थुनिएपछि नदी वरपरका स्थानीय त्रसित भएका थिए ।

 

त्यसपछि नदीको एकतर्फीबाट पानी बग्न सुरु भएको स्थानीयले बताए । स्वामीकार्तिक रुडी गाउँको आसपासबाट निरन्तर पहिरो जान थालेपछि रुडी गाउँका करिब १ सय ५० बढी घरपरिवार उच्च जोखिममा रहेका स्थानीय नन्दबहादुर खत्रीले जानकारी दिए छ ।

 

बस्ती माथि र तलबाट कडा चट्टान फुट्न थालेपछि गाउँ नै जोखिममा रहेको उनले बताए । योसँगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी पनि जोखिममा परेपछि कार्यालयका सामान अन्यन्त्र सार्न थालिएको जुड्डी प्रहरी चौकीले जनाएको छ । 

 

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डी पारिपट्टि स्वामीकार्तिकको छुद्धरी गाउँ नजिकैको भीर फुटेर कर्णाली नदीमा ढुंगा, माटो थुप्रिएपछि नदी थुनिएको स्थानीय शिक्षक दानबहादुर धामीले बताए । यसअघि गत साउनमा पनि पहिरो जाँदा कर्णाली नदी थुनिएको उनको भनाइ छ ।