close

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको मागदाबी

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको मागदाबी

Trulli
ADVERTISEMENT

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने मागदाबी गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको हो ।

 

हेटौंडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए । कांग्रेससहित केन्द्रमा गठबन्धन गरेको दल नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गर्दै आएको छ ।

 

नेकपा एकीकृत समाजवादीले संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई गठबन्धनमा आबद्ध दलसँग छलफल गर्न जिम्मेवारी दिएको छ । एमाले विभाजित भएसँगै अल्पमतमा परेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएकी छन् ।

 

मुख्यमन्त्रीको दल विभाजित भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभाको नवौँ बैठक आगामी आइतबार दिउँसो ३ बजेका लागि बोलाएकी छन् ।

 

बैठकले गठबन्धन दलहरूसँग वार्ता गर्न संसदीय दलका नेता इन्द्रबहादुर बानियालाई जिम्मेवारी दिएको सचेतक लामाले बताए । विश्वासको मतको प्रस्तावमाथि छलफल र मतदानको मिति प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउनेछ ।