close

बर्खाले क्षतिग्रस्त घरगाउँका सडक मर्मत धमाधम

बर्खाले क्षतिग्रस्त घरगाउँका सडक मर्मत धमाधम

Trulli
ADVERTISEMENT

उदयपुर– बर्खाले क्षतिग्रस्त बनाएको उदयपुरका अधिकांश ग्रामीण सडक धमाधम मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उदयपुरका अधिकांश ग्रामीण सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रु दसैँमा धमाधम मर्मत गरिएको हो ।

 

बर्खाका कारण भएको क्षतिपछि स्थानीय तहले आ-आफ्नो क्षेत्रमा सडक मर्मत गरेका हुन् । बर्खाले सडक हिलाम्य हुनुका साथै खाल्डाखुल्डी परेका कारण सदरमुकाम भित्रिने तथा बाहिरिने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।

 

ठाउँ–ठाउँमा पहिरो खसेको तथा सडक हिलाम्य भएका कारण यातायातका साधन सञ्चालनमा समस्या भइरहेको अवस्थामा दसैँसँगै स्थानीय तहले स्काभेटर, जेसिभी प्रयोग गरी मर्मत गरेर गाउँ–गाउँसम्म यातायात जान सक्ने बनाएका छन् । 

 

घाम लागेका बेला जसोतसो गाडी चले पनि पानी परेका बेला निकै समस्या हुने गरेका ग्रामीण सडक मर्मतपछि सहज रूपमा गन्तव्य पुग्न सकिएको बस चालक लालप्रसाद झाले बताए ।

 

सडक निर्माण गरिए पनि सडकको स्तरवृद्धिमा सरोकारवाला निकायको ध्यान जान नसक्दा भगवान् भरोसामा गाडी चलाउनुपर्ने अवस्था रहेको चालकको भनाइ छ । ‘दुर्घटना भइहाले ड्राइभरको गल्तीका कारण भयो भन्छन् तर, सडकको स्तरोन्नतिका लागि कसैले चासो दिँदैनन्,’ झाले भने, ‘कुन ठाउँमा कति बेला के हुने हो भन्न सकिने अवस्था थियो । अब भने सहज छ ।’

 

जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यतामा नागरिक थिए । ‘काम विशेषले सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा जानुपर्दछ,’ रौतामाई गाउँपालिका आँपटारका केशव राईले भने, ‘हिँडेर जान सकिँदैन, जोखिमपूर्ण भए पनि गाडीमा यात्रा गर्नुपर्ने अवस्था छ ।’

 

सदरमुकामलाई जिल्लाका अन्य गाउँसँग जोड्न उदयपुरमा दर्जनौँ बढी ग्रामीण सडक निर्माण भएका छन् । वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध थिए । मर्मतपछि अहिले सञ्चालनमा आएका छन् ।

 

कटारी–रुपाटार, कटारी–इनामे–माझखर्क, कटारी– ठानागाउँ, कटारी–बर्रे, कटारी–नेपालटार, मोतिगडा–फत्तेपुर सडक मर्मतपछि सञ्चालनमा ल्याइएको छ ।
बेल्टार–चौदण्डीगढी–रानीटार, सोमबारे–मैनामैनी–मचुङटार नेपालटार–उदयपुरगढी–डुम्रे, बेल्टार–साउने, मुर्कुची– माझर्खक, मुर्कुची–भुट्टार, देउरी– दमौटी, फोक्सिनटार–रसुवा, रसुवा– लाफागाउँ सडक मर्मतपछि सञ्चालनमा आएको छ । 

 

जिल्ला प्राविधिक कार्यालयका उदयपुरका अनुसार गाउँमा स–सानो लगानीमा निर्माण गरिएका सडक बखामा जोखिमपूर्ण बन्ने गरेका छन । थोरै पैसाले धेरै लामो सडक निर्माण गर्दा गुणस्तरीय नहुने हुँदा समस्या छ । भर्खरै खनिएका कच्ची सडक रहेको जिल्लाका पहाडी भेगमा जताततै पहिरो र हिलोले यातायात सञ्चालन गर्न कठिनाइ छ ।

 

लिम्चुङबुङ–ताप्ली–रौतामाई गाउँपालिका केन्द्र जोड्ने सडक मर्मतपछि सञ्चालनमा आएको छ । बर्खाले पहिरो गएर पालिकाबाट सदरमुकाम गाईघाट आउन कठिनाइ भइरहेको अवस्थामा मर्मतपछि आउजाउ सहज भएको सर्वसाधारण बताउँछन् ।

 

हिउँदमा धुलाम्य हुने कच्ची सडक बर्खायाममा हिलाम्य हुने समस्या अब हट्ला । अझ पहिरो पनि थपिएर सडक अवरुद्ध पारेपछि आउजाउमा धेरै समस्या थियो’, रौतामाई गाउँपालिका वडा नम्बर १ माझखर्ककी अस्मिता मगरले भनिन् ।

 

रौतामाई र लिमचुङबुङ जोड्ने रौता–भुट्टार–लाफागाउँ–जाते खण्ड, बाराहा–माझखर्क–पुँवारे भन्ज्याङ, उदयपुरगढी–रौतामाई, उदयपुरगढी–ताप्ली जोड्ने सडक र कटारी–ताप्ली जोड्ने सडक बर्खाले अवरुद्ध भएकामा मर्मतपछि सञ्चालनमा आएका छन् ।

 

लिमचुङबुङका जाते–माझखर्क–बाराहा खण्ड, माझखर्क–बाराहा–बलम्ता, बाराहा–ताम्लीछा–बाँसबोटे र जाँते–बलम्ता–ताम्लीछा खण्डका आन्तरिक सडक पनि बेहाल रहेको स्थानीय बताउँछन् । 

 

उदयपुरगढी–डुम्रे, गढी–बर्रे, गढी–तावाश्री जोडिएका आन्तरिक सडक, ताप्लीका रुपाटार–ओख्ले, कटहरे–रुपाटार, रुपाटार–इनामे सडक सञ्चालनमा आएका छन् ।स्थानीय तहले अवरुद्ध सडक मर्मत गरिदिँदा चाडपर्वमा सर्वसाधारणलाई गाउँ पुग्न सहज भएको छ ।