close

मध्यपहाडी लोकमार्ग : कास्की पश्चिम खण्ड निर्माण ९५ प्रतिशत सकियो 

मध्यपहाडी लोकमार्ग : कास्की पश्चिम खण्ड निर्माण ९५ प्रतिशत सकियो 

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमि सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी सडक आयोजनाले जनाएको छ । आगामी माघभित्र सम्पूर्ण काम सम्पन्न हुने दाबी आयोजनाको छ । फेदीदेखि घट्टेखोलासम्मको दुई किमि सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट’ कालोपत्र सकिएको
छ ।

 

सो स्थानमा कालोपत्रेका लागि सबै काम तयारी अवस्थामा रहेको छ । कालोपत्रेपछि अहिले रोड मार्किङलगायत काम जारी छन् । याम्दीदेखि सुइखेतसम्म ६ किमि र सुइखेतदेखि घट्टेखोला ६ किमि २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो ।

 

सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाका इञ्जिनियर अनन्त बरालले जानकारी दिए । सुरुमा विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उनले बताए ।

 

आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको थियो ।

 

इञ्जिनियर बरालले भने, ‘सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर, यस आयोजनाको बाँकी काम त्यसअघि नै ढिलोमा माघभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेको छ ।’ असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहे पनि नियमितजस्तो वर्षा भएकाले काम सुरु गर्न नसकिएको बताइन्छ । 

 

सडकको ‘मेडियन’ का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको हो । त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिनियर बरालले बताए । २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । 

 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भएको गुनासो स्थानीयले गर्दै आएका थिए । विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपेत्र सडक बनेपछि उत्साहित छन् ।

 

सो खण्ड ३० मिटर फराकिलो छ । निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि २०७६ असोजमा पहिलो पटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो ।

 

‘गत आर्थिक वर्षको असारभित्र आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो,’ इञ्जिनियर बरालले भने, ‘तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र बिटुमिन समयमै ल्याउन सकिएन । यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजनाले निर्धारित समयमा पूर्णता पाउन सकेन ।’

 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत÷सिमाना नयाँपुलसम्म ३७ किमि पर्दछ । यसमा घट्टेखोला–नयाँपुलको २५ किमि सडकको काम यसअघि नै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैंसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन ।

 

आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एन्ड कम्पनीसँग ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो ।