close

त्रियुगामा डेंगु नियन्त्रण : सबै वडाभित्र छर्किइँदै औषधी

त्रियुगामा डेंगु नियन्त्रण : सबै वडाभित्र छर्किइँदै औषधी

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाले डेंगु नियन्त्रणका लागि फगिङ अभियान थालेको छ । नगरपालिकाले दसैँभित्रै नगरभित्रका तराई र भित्री मधेसका सबै वडामा फगिङ ( औषधी छर्किने कार्यक्रम) सुरु गरेको हो ।

 

नगर क्षेत्रको तराई र भित्री मधेसमा पर्ने वडा नम्बर १ देखि १३ वडासम्म फगिङ कार्यक्रमअनुसार धमाधम औषधी छर्ने काम भइरहेको त्रियुगा नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । नगरका १६ वडामध्ये १४, १५, १६ पहाडी भेग पर्ने भएकाले त्यसबाहेकका क्षेत्रमा फगिङ गर्ने काम भइरहेको उनले बताए । 

 

सिटी सवारीमा फगिङ गर्ने मेसिन राखेर प्रत्येक टोलटोलमा पुगेर औषधी छर्किने काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख अवधनारायण चौधरीको भनाइ छ । उनका अनुसार डेल्टामेथ्रिन १.२५ नामक किटनाशक औषधी डिजेलमा मिसाएर छर्किन थालेको उनले बताए । 

 

बढ्दो सहरीकरणसँगै लामखुट्टेजन्य रोगलाई नियन्त्रण गर्न नगरपालिकाले यस्तो अभियान थालेको हो । १० लिटर डिजेलमा १ सय एमएल डेल्टामेथ्रिन १.२५ औषधी राखेर जलाएपछि निस्कने धुँवाले लामखुट्टे मर्ने गरेको चौधरीले सुनाए ।

 

‘फगिङ गर्ने विषादीले स–साना पुतली, भुसुना, लामखुट्टे मर्ने भएकाले त्यसबाट हुने रोग नियन्त्रणमा सहज हुनेछ । लामखुट्टेसहित भुसुनाबाट हुने कालाजारजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ’, नगरप्रमुख चौधरीले भने । 

 

डेंगु रोग एडिज एजिप्टी जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले सफा पानीमा फुल पार्ने गर्दछ । बर्खाको मौसममा पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, पुराना टायर, ट्युब तथा खाली ड्रममा फुल पार्ने गर्दछ ।

 

घर, कौसीको गमला, फूलदानी, एयर कुलर, एयर कन्डिसन पानीको ट्ंयाकीमा पनि लामखुट्टेले फुल पार्दछ । डेंगुविरुद्ध कुनै खोप छैन र खास उपचार पनि छैन ।

 

यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो ५ देखि ७ दिनसम्म आउने, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग दुख्नु, रक्तश्राव हुनु, हाडजोर्नी तथा मासंपेशी दुख्नु, शरीरमा दादुराजस्ता स–साना फोका देखापर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउनेजस्ता लक्षण देखापर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

 

डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यानसमेत जान सक्छ । वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुनेजस्ता लक्षण देखिन्छन् । 

 

डेंगु नियन्त्रणमा सरसफाइलाई विशेष ध्यानमा राखी पानी जमेको खाल्डा, टायर तथा टायर राखेको ठाउँ, ढल तथा नालीसमेत सफाइ गरी औषधी छर्किएर सफाइ गरिएको स्वास्थ्य शाखा उप–प्रमुख चौधरीले जानकारी दिए । डेंगुको लक्षण देखापरे तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा उपचार गराउन पनि नगरपालिकाको स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

 

नगर क्षेत्रमा डेंगु फैलाउने लामखुट्टे नियन्त्रणका लागि औषधी छर्किने काम हरेक वडा, गाउँ, टोल बस्तीसम्म पुगेर स्वास्थ्यकर्मिको टोलीले औषधी छर्किने काम गरिरहेको नगरप्रमुख चौधरीले बताए ।

 

डेंगु नियन्त्रणका लागि फगिङ, लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने र जनचेतना बढाउने काम गर्दै आएको उनको भनाइ छ । ‘डेंगु नियन्त्रणका लागि अब प्रत्येक परिवारलाई जिम्मेबार बनाएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘प्रत्येक स्कुल र क्याम्पसका विद्यार्थीलाई डेंगु नियन्त्रणबारे चेतना जगाएर परिवारमा अभियान सञ्चालन गर्नुपर्छ ।’

 

त्रियुगा नगरपालिकाले ३ वर्षदेखि नियमित रूपमा फगिङ गर्दै आएको छ । यो वर्ष पनि करिब ५ लाख रुपैयाँको विषादी खरिद गरी फगिङ अभियान चलाएको
हो । फगिङ अभियान त्रियुगाको बजार क्षेत्रका १०, ११, १२, १३ नम्बर वडामा सकिएको स्वास्थ्य शाखा उपप्रमुख चौधरीले बताए ।

 

उदयपुरमा ३ वर्षअघि कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा ३६ जनामा डेंगु संक्रमण भेटिएको थियो ।