close

बेनी–जोमसोम–कोरला सडक : कालीमा बन्यो पक्की पुल

बेनी–जोमसोम–कोरला सडक : कालीमा बन्यो पक्की पुल

Trulli
ADVERTISEMENT

बागलुङ– म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभीरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।
अन्तरदेशीय व्यापारिक महत्त्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत महभीरस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण गरिएको हो ।

 

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजै सवारी आउजाउको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो । 

 

महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि ०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–वज्रगुरु जेभीले १९ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

 

८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए । ‘पुल र पहुँचमार्ग निर्माण सकिएको छ,’ उनले भने, ‘हस्तान्तरण भएपछि औपचारिक रूपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।’ 

 

११ मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफंैले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष पछि धकेलिएको हो ।

 

कोरोना महामारी र बाढीपहिरोजस्ता प्राकृतिक विपद्कै बीच सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधिले बताए । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा नम्बर २ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 

७० मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रूप दिन बाँकी छ । २०६४ मा ट्रयाक खुलेको बेनी– जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । बेनी–जोमसोम सडकअन्तर्गत नै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । 

 

८ करोड ४७ लाख रुपैयाँ लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए । पुलको वारिपारि ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो ।

 

भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतिको काम भइरहेको छ ।

 

६ अर्ब रुपैयाँ लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सात वटा खण्डमा काम भइरहेको छ ।

 

चार वटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख अश्विनीकुमार यादवले बताए । सो सडक स्तरोन्नति र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए ।