close

जुम्लामा मासु खाने बढेपछि भेडा–च्यांग्राको मूल्य छोइनसक्नु

जुम्लामा मासु खाने बढेपछि भेडा–च्यांग्राको मूल्य छोइनसक्नु

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा विगत वर्षभन्दा अहिले भेडाबाख्रापालन निकै घटेको छ । भेडाबाख्राको घट्दो उत्पादनमा मांसाहारी बढेपछि मूल्य पनि बढ्दै गएको हो ।

 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले भने, ‘एक वर्ष दसैँका लागि जुम्लामा भित्रिएका भेडा–च्यांग्राको मूल्य न्यूनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ पुग्यो । यो वर्ष जुम्ला ल्याइएका भेडा–च्यांग्रा जुल्लाका ग्रामीण भेगदेखि बाजुरा, जाजरकोटलगायतका विभिन्न जिल्लाबाट ल्याइएका हुन् ।’

 

दसैँमा जुम्लामा खलंगामा भेडा–च्यांग्रा आपूर्ति गर्न सरकारी कुनै निकायले पहल नगरेको उनले बताए । जुम्लाका भेडा व्यापारी प्रेम कार्कीका अनुसार यो वर्ष यहाँ ल्याइएका भेडा बाजुराका हुन् । उनले भने, ‘यसपटक जुम्लामा भेडा नपाएपछि बाजुरा पुग्यौँ । जुम्लामा मासु माग बढ्दै जानु तर उत्पादन नहुनुले भेडाको मूल्य अकासिएको हो । अहिले जुम्लामा १ किलो मासुको १ हजार रुपैयाँ पर्छ ।’

 

कर्णाली प्रदेश सरकारले जुम्लालाई मासु र दूधमा आत्मा निर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । तर, सरकारी रकम सदुपयोग भएको पाइँदैन । अनुदान खाने प्रविधिका कारण पशु वस्तु क्षेत्रको उत्पादन भनेअनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए ।

 

उनले भने, ‘अनुदान दिइए पनि त्यसपछि अनुगमन हुँदैन । सरकारले दिने अनुदानका कार्यक्रममा कडा निगरानी हुन आवश्यक छ ।’

 

भेडा–च्यांग्राको मूल्य निर्धारण भएन

 

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्द महतका अनुसार यो वर्ष जुम्लामा आवश्यकताभन्दा बढी भेडा भित्रिए । ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई मुस्किल हुने गरेको थियो । तर, यो वर्ष धेरै भेडा भित्रिए’, उनले भने, ‘मूल्य ३०–४० प्रतिशत बढेको छ । अहिले जुम्लामा जिउँदो खसीको मूल्य प्रतिकेजी १ हजार रुपैयाँ छ । सोही कारण मूल्य नियन्त्रणभन्दा बाहिर छ ।’

 

भेडा तथा खसीको मूल्य निर्धारण गर्ने अधिकार स्थानीय तहसँग छ । स्थानीय तह मौन हुँदा मूल्य निर्धारण भएको छैन । संघीयता आउनुअघि जुम्लामा पशु सेवा कार्यालयले भित्रिएका भेडा तथा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने गरेको थियो । रोगी रहेको पाएपछि सिङमा रातो रङ लगाएर नबेच्न सुझाइन्थ्यो । अहिले स्वास्थ्य परीक्षणबिनै बेचिने गरेको छ । 

 

व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी–बोका ओसारपसार गर्न, मूल्य अनियन्त्रित नगर्नसमेत निर्देशन दिने निकाय बेखबर भएपछि यो वर्ष भेडाको मूल्य बढेको स्थानीय भैरबहादुर कठायतले बताए । उनले भने, ‘जुम्लामा भित्रिएका यो वर्षका भेडा सामान्य नागरिकले किन्न सक्ने अवस्था भएन ।’