close

इनरुवा सब–स्टेसन निर्माण धमाधम

इनरुवा सब–स्टेसन निर्माण धमाधम

Trulli
ADVERTISEMENT

काठमाडौं– मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब–स्टेसनको काम धमाधम भइरहेको छ । 

 

आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ दुवै सब–स्टेसनको काम भइरहेको हो । निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सब–स्टेसन अर्को ठूलो हब बन्नेछ ।

 

सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिनेछ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणले बताएको छ । 

 

४०० केभी र २२०/१३२/३३ केभी सब–स्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माण स्थलमा ल्याइसकिएको छ । २२०/१३२/३३ केभी सब–स्टेसनका उपकरण जडान भइसकेका छन् । ४०० केभी र २२०/१३२/३३ केभी सब–स्टेसनको समग्र निर्माण प्रगति क्रमशः ६५ र ८५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । 

 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण स्थलको अवलोकन र निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग छलफल गरी निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

 

‘मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सब–स्टेसन निर्माण तत्काल सक्नुपर्ने बाध्यता छ । यस्तो मेरुदण्डको रूपमा रहेको सब–स्टेसन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौँ’, उनले भने, ‘सब–स्टेसन तयार भएपछि कोसी करिडोर २२० केभी प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्न सकिन्छ । त्यसपछि यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुनेछ, जसले प्रणालीलाई विश्वसनीय बनाउनेछ ।’ 

 

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सब–स्टेसनमा जोडिनेछ । कोसी करिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ । 

 

सरकारको लगानीमा निर्माण भइरहेको ४०० केभी सब–स्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । सरकारको लगानी र विश्व बैंकको सुहलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२/३३ केभी सब–स्टेसन निर्माण गरिएको हो । सब–स्टेसन निर्माणका लागि भएको पुरानो ठेक्कालाई रद्द गरी २०७५ पुसमा नयाँ ठेक्का गरिएको थियो । 

 

बर्खाको समय तराईमा हुने डुबान, कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सब–स्टेसनको निर्माण प्रभावित भएको थियो ।

 

अहिले ४०० र २२० केभी सब–स्टेसनको निर्माण आगामी पुसभित्र सक्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणाली विस्तार तथा सदृढीकरण गरिएको हो । 

 

नेपाल–भारतबीच विद्युत् व्यापारका लागि कुशाहा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन प्रस्ताव गरिएको छ । लाइन निर्माण गरिए इनरुवा सब–स्टेसनबाटै विद्युत् प्रवाह हुनेछ ।