close

उदयपुरका पर्यटकीय गन्तव्यमा बढ्यो चहलपहल

उदयपुरका पर्यटकीय गन्तव्यमा बढ्यो चहलपहल

Trulli
ADVERTISEMENT

उदयपुर– कोरोना महामारीका कारण बन्द रहेका उदयपुरका पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । 

 

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने उदयपुरमा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि गत वर्ष चैतदेखि बन्द यहाँका पर्यटकीय स्थल सुनसान थिए ।

 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रूपमा बन्द हुन पुगेको
थियो । कोरोना संक्रमण न्यून हुँदै गएको र स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाइएपछि यतिखेर उदयपुरमा चहलपहल सुरु हुन थालेको छ ।

 

कोरोना संक्रमणका बेला पर्यटकको आगमन ठप्पजस्तै हुन पुगेको रौता पोखरी क्षेत्रमा असोज लाग्नासाथ दैनिक सयौंको संख्यामा रौतामाईको दर्शन गर्न र रौताको रमणीयस्थल घुम्न पर्यटक आउन सुरु गरेको रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरीले बताइन् ।

 

जिल्लाको ऐतिहासिक र महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रूपमा रहेको रौतापोखरी तथा पञ्चकन्यादेवीको मन्दिरमा असोज पहिलो सातादेखि दैनिक करिब १ सयभन्दा बढीको संख्यामा आन्तरिक पर्यटक दर्शन गर्न र घुम्न आउने गरेको रौतापञ्चकन्या मन्दिरका पूजारी गंगा राना मगरले बताए । 

 

कोरोना संक्रमण घट्दै गएपछि रौता पञ्चकन्यामाई देवीको दर्शन र पूजा गर्ने, भाकल पूरा गर्ने र रौता पर्यटकीय स्थल घुम्न आउनेको संख्या दैनिक वृद्धि हुँदै गएको रौतामाई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष पाण्डव राईले बताए ।

 

उनका अनुसार अहिले पूजा तथा आराधना र रौता क्षेत्रको रमणीय स्थल घुम्न जिल्लाबाहेक सप्तरी, सिरहा, मोरङ, सुनसरी, झापा, धनुषा, सिन्धुली र सर्लाहीसम्मका भक्तजन तथा पर्यटक आउने क्रम सुरु भएको हो । 

 

कोरोना संक्रमण घट्दै गएपछि भदौ अन्तिम सातादेखि ८–१० जना पर्यटक आउन सुरु गरे पनि असोज लाग्नासाथ पर्यटक संख्या ह्वात्तै बढेर दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको रौता पर्यटन होमस्टे समितिका सदस्य कुवेर मगरले बताए ।

 

पर्यटक संख्या वृद्धि हुँदै जान थालेपछि यस क्षेत्रको होमस्टे र होटल पनि विस्तारै सञ्चालन हुन थालेको अर्का होमस्टे सञ्चालक खवीन्द्रराज राईले सुनाए । उनका अनुसार ५० प्रतिशत भक्तजन मुख्य रौतामाई पञ्चकन्यादेवीको पूजा आराधना गर्न र बाँकी पर्यटक पूजाआराधनाका साथै यो क्षेत्र घुम्न आउने गरेका छन् । 

 

समुद्री सहतबाट २ हजार मिटरको उचाइमा रहेको उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पर्यटकीय स्थलबाट सगरमाथा, मनास्लु, लौत्से, आमादोल्मा, कोयु र अरुणवरुण क्षेत्रका ८ वटा हिमशृंखला अवलोकन गर्न सकिने रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले जानकारी दिए ।

 

यस्तै, सो क्षेत्रबाट धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरीसहित तराईका हरिया फाँट र सप्तकोशी तथा कमला नदीको समेत अवलोकन गर्न सकिने पालिकाका अध्यक्ष खड्काले बताए । रौता क्षेत्रलाई प्रदेश १ कै महत्त्वपूर्ण पर्यटकीय स्थल निर्माण गर्न बृहत् गुरुयोजनासमेत निर्माण गरिएको उनको भनाइ छ ।

 

जिल्लाको पर्यटकीय क्षेत्र खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । उदयपुरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी करोडौँको लगानीमा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । सयौँको संख्यामा सञ्चालित त्यस्ता होटल कोरोनाका कारण पर्यटक आवागमन बन्द भएपछि लगानीकर्ता चिन्तित थिए ।