close

वालिङका १०८ घरमा एक घर एक धारा जडान : खोलाखोल्सीमा गएर खानेपानी ल्याउनुपर्ने बाध्यता हट्यो 

वालिङका १०८ घरमा एक घर एक धारा जडान : खोलाखोल्सीमा गएर खानेपानी ल्याउनुपर्ने बाध्यता हट्यो 

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानी समस्यामा भोग्दै आएका वालिङ वडा नम्बर ५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।

 

विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको ५० लाख रुपैयाँ लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र मल्लले जानकारी दिए ।

 

इञ्जिनियर मल्लका अनुसार गाउँभन्दा तल रहेको बोहोरीखोला मूलबाट पानी तानेर मजकोटमा ल्याइएको र त्यहाँ ४० हजार लिटरको ट्यांकीमा पानी संकलन गरी वितरण गरिएको छ ।

 

‘बोहोरीखोला मूलबाट २८० मिटर भर्टिकल हाइटमा सोलारमार्फत पानी लिफ्टिङ गरिएको छ’, इञ्जिनियर मल्लले भने, ‘३२० वाटका ३२ वटा सोलार प्यानल प्रयोग गरी पानी तानिएको हो । सोलारको महसुल विद्युत्भन्दा कम पर्ने देखिएको छ ।’

 

एक गाग्री पानीका लागि डेढ घन्टा समय खर्चनुपर्ने अवस्था रहेकामा योजनामार्फत गाउँमा पानी आएपछि सहज भएको बोहोरीखोला लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष फगिन्द्र थापाले बताए ।

 

‘एक गाग्री पानीका लागि प्रत्येक घरले एकदेखि डेढ घन्टा समय छुट्याउनुपथ्र्यो’, अध्यक्ष थापाले भने, ‘वालिङ नगरपालिकाको पहलमा अहिले गाउँका प्रत्येक घर–घरमा खानेपानीको धारा जडान गरेका छौँ । अहिले सहज भएको छ ।’ खोलाखोल्सीमा गएर पालो कुरेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको अध्यक्ष थापा बताउँछन् ।

 

प्रत्येक घरमा मिटर जडान गरिएको छ । पानी खोल्न, बन्द गर्न तथा मर्मतका लागि दुई कर्मचारी राखिएको अध्यक्ष थापाले जानकारी दिए । ‘पानीको जोहो गर्न चिन्तित हुने यहाँका गाउँले अहिले घर–घरमा धारा जडान भएसँगै समयको बचत भएको छ’, अध्यक्ष थापाले भने, ‘पानीको जोहोमै चिन्तित हुनेहरू अहिले खुसी छन् ।’

 

वालिङ नगरपालिकाले खानेपानी समस्या भएका बस्तीमा शुद्ध खानेपानी पु-याउने लक्ष्यसहित योजना अगाडि बढाएको छ । नगरपालिकाले गत आव २०७७/७८ मा खानेपानीमा ५६ लाख ५५ हजार ५७४, २०७६/७७ मा ८४ लाख ७० हजार ५६४, २०७५/७६ मा २ करोड ७ लाख ४ हजार ६८९ रुपैयाँ विनियोजन गरेको
थियो । 

 

प्रदेश, केन्द्र सरकार र अन्य सहयोगी संघ–संस्थाको पहलमा नगरका १४ वटै वडामा खानेपानी योजना अगाडि बढाइरहेको नगरपालिकाले जनाएको छ ।