close

काठमाडौं महानगरले ठड्याउँदै नयाँ भवन

काठमाडौं महानगरले ठड्याउँदै नयाँ भवन

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिले ६ रोपनी जग्गामा आफ्नै नयाँ भवन बनाउने भएको छ । महानगरले ६९ करोड ५८ लाख रुपैयाँ लगानीमा टेकुस्थित हाल महानगरको वातावरण विभाग रहेको स्थानमा भूमिगतसहित ८ तले भवन बनाउने भएको हो ।

 

महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त भवनको शिलान्यास गरेसँगै महानगरको नयाँ भवन भन्ने भएको हो । २०८० असोज मसान्तसम्म भवन बनाइसक्ने गरी महानगरले समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का दिएको छ ।

 

३ हजार ८३ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्ग मीटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउन्ड कभरेज ४० प्रतिशत हुनेछ ।

 

भवनमा १० क्षमताका दुई लिफ्ट जडान हुनेछन् । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले तयार पारेका हुन् । नयाँ भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । 

 

मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ गर्न सकिनेछ । भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुने महानगर प्रमुख शाक्यले बताए ।

 

अकासे पानी संकलन तथा संकलित पानीको शुद्धीकरण प्रणालीसहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा २ सय क्षमताको एउटा र १ सय क्षमताको एउटा गरी दुई वटा सभाहल पनि निर्माण गरिनेछ ।

 

नगरप्रमुख शाक्यले पहिलो कार्यपालिका बैठकमा काठमाडौं महानगरको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको बताए ।

 

अधिकांश वडा कार्यालय नवनिर्माण र पुनर्निर्माण भइसकेको उनको भनाइ छ । ‘हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ,’ शाक्यले भने, ‘मुद्दामामिलामा अल्झिनु परेकाले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौँ । मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुनर्निर्माण गर्नेछौँ ।’

 

महानगरको एकीकृत भवन नहुँदा छरिएका कार्यालयबाट सेवा व्यवस्थापन गर्न समस्या छ । केन्द्रीय कार्यालय निर्माण भएपछि सेवा व्यवस्थापन सहज हुनेछ ।