close

नेकपा कर्णालीमा लागेको आगो बाग्मतीमा बुझाइँदै

नेकपा कर्णालीमा लागेको आगो बाग्मतीमा बुझाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले कर्णाली प्रदेशका नेकपा नेताहरूलाई काठमाडौं बोलाएका छन् ।

 

दुई अध्यक्षले मंगलबार पत्र पठाउँदै कर्णालीमा उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका हुन् ।

 

पार्टीको निर्देशन लगत्तै नेताहरु काठमाडौं आउन सुरु गरेका छन् । ‘दिउँसो ४ बजेतिर मैले पत्र पाएको छु । पत्रमा अहिलेको अवस्थालाई यथास्थितिमा राखेर छलफलका लागि २९ असोजभित्र काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आउनू भनिएको छ,’  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्व गरेका सांसद यामलाल कँडेलले भने ।


कँडेलसँगै संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ ।


‘पत्र आएको छ । हामी काठमाडौं जाने तयारी गर्दै छौं,’  निवर्तमान प्रमुख सचेतक शाहले भने । यसअघि आइतबार कँडेल नेतृत्वमा १८ सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

 

कर्णालीमा सत्ता लिकबाहिर जान थालेपछि काठमाडौंमा तरंग आएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर फिर्ता लिन भनेपछि मंगलबार सहमति भएको बताइन्छ  ।