close

पाथीभरा याङ्वरकको काबेलीस्थित हेल्थ डेस्क हटाउने तयारी 

पाथीभरा याङ्वरकको काबेलीस्थित हेल्थ डेस्क हटाउने तयारी 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले ताप्लेजुङको मुख्य प्रवेशमार्ग पाथीभरा याङ्वरक गाउँपालिकाको काबेलीमा रहेको हेल्थ डेस्क तत्कालका लागि हटाउने तयारी थालेको छ । 


सहज रुपमा आउजाउ सुरु भएको र त्यसको तथ्यांक मेवाखालगायतका स्थानमा रहेका प्रहरी चेकपोस्टमार्फत नै हुने भएकाले आउँदो कात्तिक १ बाट हटाउने तयारी गरिएको हो । यसअघि लकडाउनको समय काबेलीमा रहेको हेल्थ डेस्कले आउजाउमा कडाइ गर्दा प्रभावकारी देखिएको थियो ।  


नेपाल प्रहरी, सशस्त्र प्रहरी र पाथीभरा याङ्वरक गाउँपालिकाको स्वास्थ्य शाखाबाट खटिएको टोलीले यहाँ स्वास्थ्य तथा सुरक्षा जाँच गर्ने, अनुमति प्राप्त सवारी र व्यक्तिलाई ताप्लेजुङ प्रवेशको अनुमति दिई अन्यलाई जुन ठाउँबाट आएको हो, त्यहीँ फर्काउँदै आएको थियो ।

 

यसबाहेक भारतसहित तेस्रो मुलुकबाट आएकालाई त्यहीँबाट स्कर्टिङ गरी फुङलिङस्थित ताप्लेजुङ उद्योग वाणिज्य संघको क्वारेन्टाइनसम्म पु¥याउन काबेलीको हेल्थ डेस्कले भूमिका निर्वाह गर्दै आएको थियो ।

 

अहिलेसम्म यो हेल्थ डेस्कको सबैभन्दा बढी दायित्व पाथीभरा याङ्वरक गाउँपालिकाले नै बेहोरेको छ । पाथीभरा याङ्वरक दायित्व बढी भएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यो हेल्थ डेस्कको व्यवस्थापन खर्च प्रत्येक महिना प्रत्येक गाउँपालिकाले बेहोर्ने गरी सञ्चालनमा थियो ।


कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं अहिले सहज रुपमा आउजाउ सुरु भएको अवस्थामा अब हेल्थ डेस्कको कार्य तत्काललाई स्थगित गर्न पाथीभरा याङ्वरक गाउँपालिकाले प्रस्ताव पठाएको बताउँछन् । ‘समितिको बैठक बसेर यसबारे औपचारिक निर्णय लिन्छौं’, प्रजिअ चापागाईंले भने ।