close

२ दशकपछि मुसहरीका घर झिलीमिली 

२ दशकपछि मुसहरीका घर झिलीमिली 

Trulli
ADVERTISEMENT

धनुषा - प्रदेश २ को अस्थायी राजधानी जनकपुर– ७ स्थित मुसहरीमा थातथलो बनेको २० वर्षसम्म बिजुली बत्ती नपुगेको भन्दा आश्चर्य लाग्न सक्छ । तर, भएको त्यही हो । 


जनकपुरधाम उपमहानगरको वडा-७ स्थित मुसहरी बसोबास क्षेत्र भएको २० वर्ष बितिसक्दा पनि बिजुली बत्ती पुग्न सकेको थिएन । उपमहानगरको ७ नम्बर वडाध्यक्ष जानकीराम साहको सक्रियताले पहिलो पटक बस्तीमा बत्ती बल्दा मुसहरका दर्जनौं परिवारमा खुसीयाली छायो । 


मुसहरीमा पहिलो पटक घरअगाडि बिजुलीको पोलमा बत्ती बलेको देख्दा विपन्न मुसहर समुदायले सरकारको मुक्तकण्ठले प्रशंसा गरे ।  ‘बल्ल स्थानीय सरकार भएको अनुभूति गर्‍यौं ।  २० वर्षदेखि बस्तीमा टुकी प्रयोग गरिरहेका थियौं । अहिले बिजुली आएपछि सबै झलमल्ल भयो । खुसी लाग्यो । ३३ वर्षीय राजकुमार सदा खुसी सुनिन्छन् ।


जनप्रतिनिधि इमानदार हुने हो भने गाउँतहका समस्या आफैं समाधान हुने उदाहरण मुसहरी बस्तीमा बालिएको बिजुलीले देखायो’, रामकली सदा भन्छिन्, ‘पहिलेदेखि आफ्नो घरमा टिभी लगाउने  त्यो सपना बिजुली आएपछि पूरा भयो ।’ 


लामो समयको प्रयासपछि ७ नम्बर वडाले मुसहर बस्तीमा २८ पोल व्यवस्थापन गरेर र बिजुली बालिदिएको वडाध्यक्ष जानकीराम साह बताउँछन् । साहले भने, ‘मुसहरी समुदायले बिजुली पुगेपछि व्यक्त गरेको खुसीले आत्मसन्तुष्टि मिलेको छ ।’


गरिब, विपन्न मुसहर समुदायलाई वडाले आफ्नै खर्चमा मिटरसमेत जडान गरिदिने अध्यक्ष साहले सुनाए । ‘अहिले बिजुली पोलमा बलेको छ । अबको दस दिनपछि प्रत्येक घरमा बत्ती बलेको देख्न पाउनुहुन्छ ।’


मुसहरीमा बिजुली बत्ती पुगेपछि स्थानीयले टिभी, मोबाइल फोन रिचार्जका साथै  खाना पकाउन, सर्प टोकाइबाट बच्न, बालबलिकालाई अध्ययन-अध्यापन गर्न सक्नेछन् ।