close

च्याउ कृषक पुरुषलाई १० र महिलालाई १५ लाख विनाधितो ऋण

च्याउ कृषक पुरुषलाई १० र महिलालाई १५ लाख विनाधितो ऋण

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी प्रदेशले च्याउ उत्पादक कृषकलाई विनाधितो ऋण दिने भएको छ । प्रदेशले पुरुषलाई १० लाख र महिला उद्यमीलाई १५ लाख रुपैयाँसम्म विनाधितो ऋण प्रदान गर्ने जनाएको छ । 

 

कृषि विकास निर्देशनालयद्वारा बुटवलमा आयोजना गरिएको बाली विशेष (च्याउ उत्पादक व्यवसायी) संजालको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले व्यवस्थित च्याउको बिउ उत्पादन गर्ने प्रदेश स्तरीय प्रयोगशाला स्थापना गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


मन्त्री पौडेलले किसानहरूको समस्या समाधानका लागि आफू जहिले पनि तयार रहेको भन्दै च्याउ उत्पादनका विषयमा किसानहरूसँग सहकार्य गरिने बताइन् । 


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसानहरूको समस्या समाधानका लागि प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. बुद्धिराज घिमिरेले किसानहरूको समस्या समाधानका लागि मन्त्रालय, निर्देशनालय सबै तयार रहेको बताए ।


कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले उत्पादनमा आधारित अनुदानको व्यवस्थापन मन्त्रालयबाट भइसकेको जानकारी दिँदै केन्द्रमा निर्माणाधीन अवस्थामा रहेको च्याउ नीति प्रदेशमा पनि कार्यान्वयन गरिने जानकारी दिए ।


च्याउ उत्पादक संघका केन्द्रीय उपाध्यक्ष तथा च्याउ उत्पादक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केवलप्रसाद शर्माले भारतबाट आयात हुने अवैध विषादीयुक्त च्याउ नियन्त्रणमा सरकारले विशेष ठोस कदम चाल्नुपर्ने बताए । भारतीय अवैध च्याउको आयातमा पूर्ण रूपमा रोक लगाएमा मात्र नेपाली किसानहरू बलियो हुने बताए ।


यस्तै, च्याउ उत्पादक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा केन्द्रीय सदस्य गंगाधर शर्माले उत्पादनमा आधारित अनुदान नीति नभएसम्म किसानहरू जहिले पनि मर्कामा पर्ने गरेको बताए । किसानहरूले भारतबाट हुँदै आएको अवैध च्याउ आयातमा रोक लगाउन माग पनि गरे ।