close

पर्यटक तान्दै फुङ्फुङ्गे झरना 

पर्यटक तान्दै फुङ्फुङ्गे झरना 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - फुङ्फुङ्गे झरना कुनै बेला ताप्लेजुङको तत्कालीन साँवा गाविसको सम्पतिको रूपमा चिनिथ्यो । हमेसा मानिसहरू त्यहाँ पुग्दैनथे । पछि मिक्वाखोला गाउँपालिकामा रहेको फुङ्फुङ्गे झरना भन्न थालियो । 


नजिकै करिव ५० मेघावाट क्षमताको जलविद्युत आयोजना बन्ने भएर धमाधम काम हुन थाल्यो । सडक पुग्यो, अन्य पूर्वाधारहरू थपिादै गए । फुङ्फुङ्गे झरना अहिले ताप्लेजुङको मात्र नभई नेपालकै रोजाइको पर्यटकीय स्थल बन्दै गएको छ । 

 

फुङ्फुङ्गे झरनाको दृश्यावलोकनमा रमाउनेहरू अहिले दैनिक सयौँ संख्यामा त्यहाँ पुग्न थालेका छन् । यसले पर्यटन प्रवर्द्धनमा टेवा मात्र पुर्‍याएको छैन, नजिकै रहेका होमस्टेहरूले व्यावसायिक अभियानसमेत थालेका छन् । 


झरनाको अवलोकन गर्नेहरूका लागि झरना नजिक होमस्टेमा स्वागत तथा सत्कार गरिन्छ । पुग्दैदेखि स्वागतका लागि नाचगान हुन्छ र बिदाइमा टीका र फूल अर्पिने गरिन्छ । स्थानीय उत्पादनका परिकार त्यहाँको अर्को सुन्दर पक्ष हो । स्थानीय विजय साँवा पछिल्लो समय फुङ्फुङ्गे झरनाको अवलोकनका लागि आउनेहरूले स्थानीय होमस्टेहरूलाई व्यवसाय प्रवर्द्धन गर्न सघाएको बताउँछन् । 

पैदल मार्ग हुँदा आकलझुकल मात्र झरनाको दृश्यावलोकनका लागि आउने गरेकामा अहिले भने दैनिक रूपमा मानिसहरूको उपस्थिति हुने गरेको उनले बताए । झरनाको दृश्यावलोकनका लागि आउनेहरूलाई स्थानीयले पाहुना ठान्छन् । उनीहरूले पाहुनाको स्वागतका लागि स्थानीय समुदायको सांस्कृतिक झल्को दिने गीत, संगीत प्रस्तुत गर्ने गरेका छन् । 


अधिकांश लिम्बू समुदायको वस्ती रहेको यहाँ च्याब्रुङ नाच, बिजुवा नाच, धान नाचले स्वागत गरिन्छ । ‘झरनाको मनोरमता र होमस्टेमा गरिएको स्वागत आहा ! भन्नलायक छ’, त्यहाँ पुगेर फर्किएका निर्मल शेर्पाले भने । झरनाको सुन्दरता वर्णन गरी साध्य नभएको उनको ठहर छ । 

 

‘जस्तो झरनाको सौन्दर्य, उत्तिकै होमस्टेमा गरिएको स्वागत र सम्मान’, शेर्पाले फुङ्फुङ्गे झरनासँगको सामीप्य यसरी प्रकट गरे । 

 

पदमार्गमार्फत त्यहाँ पुग्न कठिन भए पनि त्यहाँ पुगेर फर्किएकाहरूबाट त्यहाँको सुन्दरताको वर्णन सुन्नेहरू अहिले धमाधम फुङ्फुङ्गे झरनाको दृश्यावलोकनमा जाने गरेका छन् । ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी पर्यटकीय शान बनेको फुङ्फुङ्गे झरना पूर्वकै अद्वितीय प्राकृतिक सम्पदाको रूपमा उदाउँदै गएको बताउँछन् ।


‘बल्ल फुङ्फुङ्गे झरनाको महत्त्व र गरिमामा वृद्धि भएजस्तो लागेको छ’, अधिकारीले भने । झरनामा देखिने इन्द्रेणीले अझै पर्यटकका मनलाई त्यहीँ राख्न कोसिस गर्छ । ‘बल्ल यो सम्पतिको मूल्यबारे मानिसहरूका बीचमा छलफल हुन थालेको छ’, फुङ्फुङ्गे झरनामा मानिसहरूको आवागमनलाई देखेर मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले भने । 


उनले गाउँपालिका र पर्यटन मन्त्रालयमार्फत यस क्षेत्रलाई थप व्यवस्थित गर्ने पहल भइरहेको जानकारी पनि दिए । शिरदेखि कतै नठोक्किई सिधै झर्ने र फुङ्फुङ् आवाज आउने भएकाले झरनाको नाम फुङ्फुङ्गे राखिएको विश्वास गरिन्छ । ताप्लेजुङ सदरमुकामबाट करिव चार किलोमिटर कच्ची सडक पार गरेपछि पुग्न सकिने यो झरना निकै आकर्षक छ । 


अहिलेसम्म झरनाको उचाइसमेत नापिएको छैन । बाह्रै महिना पानी झरिरहने यो झरना निकै अग्लो छ । झरनाको शिरमा सङ्लो पोखरी भएकाले यस क्षेत्रका बासिन्दाले यहाँ पूजा आराधना पनि गर्ने गरेका छन् । झरनाको फेदमा किरातेश्वर महादेवको मन्दिर छ । स्थानीयहरूका अनुसार यहाँ सन्तान प्राप्ति र सुख शान्तिका लागि भाकल गर्ने र पूजाआजासमेत गर्ने गरिएको छ ।