close

जनकपुरमा अब रेल संग्रहालय, काठमाडाैं महानगरले चाहिँ कहिले ल्याउला माेनाे रेल ?

जनकपुरमा अब रेल संग्रहालय, काठमाडाैं महानगरले चाहिँ कहिले ल्याउला माेनाे रेल ?

Trulli
ADVERTISEMENT

धनुषा - लामो समयको प्रतीक्षापछि धनुषाको जनकनन्दनी गाउँपालिकावासीको रेल्वे संग्रहालय खोल्ने सपना पूरा हुने भएको छ । नेपाल सरकारले जनकनन्दनी गाउँपालिकाको खजुरी भन्ने स्थानमा पुराना रेलका इन्जिनहरूलाई संरक्षण गर्दै संग्रहालय निर्माण गर्ने भएको हो ।


रेल विभागका महाप्रबन्धक गुरु भट्टराईका अनुसार संग्रहालय निर्माणको कार्य सम्भाव्यता अध्ययनपछि सुरु गरिनेछ । भट्टराईले भने, ‘रेल्वेका पुराना सम्पतिहरू संरक्षण गर्नुपर्छ, त्यसमा रेल विभाग गम्भीर रहेको छ । छिट्टै धनुषाको खजुरीमा संग्रहालय निर्माण गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।’


महाप्रबन्धक भट्टराईका अनुसार खजुरीमा संग्रहालय निर्माणको सम्भाव्यता अध्ययनका लागि सरकारले एक लाख ५० हजार रुपैयाँ बजेटसमेत छुुट्याएको छ । सम्भाव्यता अध्ययन सकिएलगत्तै संग्रहालय निर्माणको प्रक्रिया अगाडि बढाइने भट्टराईले स्पष्ट पारे ।

काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुखहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेरै मोृनो र मेट्रो रेल ल्याउने प्रतिवद्धता जनाएपनि अहिलेसम्म पुरा भएको छैन । यी दुई नगरले कहिले रेल ल्याउने ठेगान छैन । तर जनकपुरमा भने रेल संग्राहलय बन्ने भएको छ  ।


जनकनन्दनी गाउँपालिकाको खजुरीमा नेपाल रेल्वेको आफ्नै १० बिघाभन्दा बढी जग्गा रहेको छ । उक्त जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासीहरूको भनाइ छ । 


नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउनकै लागि भए पनि संग्रहालय निर्माण आवश्यक रहेको जनकनन्दनी गाउँपालिका- ४ का वडा अध्यक्ष हरिश्चन्द्र साहले बताए । यसका लागि समयसमयमा विभिन्न निकायमा पुगेर पहल सुरु गरेको तर्क गर्दै सरकारले यसबारे धेरै पछि मात्र चासो दिएको उनले बताएका छन् ।

 

विश्वभर विस्थापित कोइला इन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरूप प्रदान गर्नुपर्ने आवाज पटकपटक उठ्दै आइरहेको छ । यस विषयमा नेपाल सरकार पनि सकारात्मक देखिएको छ तर कुनै ठोस कदम भने अहिलेसम्म उठाइएको छैन । 


स्थानीयको बाराम्बरको दबाबपछि नेपाल रेल्वेका यी बहुमूल्य सम्पतिहरूको संरक्षणका लागि नेपाल सरकारले धेरै पछि १६ जना कर्मचारी खटाएको थियो तर अधिकांश कर्मचारीले अवकाश प्राप्त गरेपछि अहिले दुई जना कर्मचारी मात्र छन् । अहिले खजुरीमा रहेका ती पुराना इन्जिनहरूको रेखदेखका लागि सैलुन कवारी र उत्तिमलाल पण्डितलाई खटाइएको छ । 

 

एक जनाले  ड्युटी राती दिने गर्छन् भन्ने अर्कोले दिनमा । तर, सरोकारवालाको हेलचेक्र्याइँका कारण ती सामानहरू दिनदिनै चोरी भइरहेका छन् । ऐतिहासिक न्यारोगेज रेलका पुराना सम्पतिहरू भने कवाडीमा परिणत भइरहेका छन् ।


राज्यले चासो नदिँदा न्यारोगेज रेलका पुराना वाष्प इन्जिन, बोगीलगायतका सामानहरू लथालिङ्ग अवस्थामा छन् । रेलसेवा बन्द भएपछि पुराना इन्जिन, बोगी र अन्य महत्त्वपूर्ण पार्टपूर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेको सहजै देख्न सकिन्छ ।


यसअघि रेलमार्गमा आएका न्यारोगेज रेलका पुराना सम्पतिहरू कवाडीमा परिणत भएका छन् । ब्रोडगेज रेलमार्गको निर्माण थालिएसँगै राज्यले चासो नदिँदा पुराना कोइलाबाट चल्ने इन्जिन लथालिंग अवस्थामा पुगेका हुन् । 


संरक्षणको परर्खाइमा ऐतिहासिक धरोहर


जनकपुरधामबाट १५ किलोमिटरको दूरीमा पर्ने खजुरी रेल्वे स्टेसनस्थित थन्क्याइएका सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिनको संरक्षण हुन सकेको छैन । २०५० सालसम्म कोइला इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगीसहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम-जयनगर रेल मार्गमा आधुनिक रेल संचालनमा आएको थियो ।


नेपाल रेल्वेका ती पुराना इन्जिनहरूलाई संरक्षण गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने सोही स्थानीय मनोज साहले बताए । सरकारको ऐतिहासिक सम्पतिको रूपमा रहे पनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ सरकारले ध्यान नदिपछि स्थानीय चिन्तित छन् ।


यी पुराना इन्जिनहरूलाई संरक्षण र सम्बद्र्धन गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने स्थानीय ललित कामत बताउँछन् ।  यसका साथै आर्थिक रूपले समेत फाइदा उठाउन सकिने उनको भनाइ छ । उनले स्थानीय तहमा जनप्रतिनिधिसमेत आइसकेकाले स्थानीय सरकारले समेत ती इन्जिनहरूको संरक्षणमा पहल गर्नुपर्नेमा जोड दिए ।


महत्त्वपूर्ण र ऐतिहासिक सम्पतिका रूपमा रहे पनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ कुनै निकायले ध्यान नदिएपछि स्थानीय खजुरीवासी स्वयंले पहल सुरु गरेका थिए । संग्रहालय निर्माणका लागि ढिलै भए पनि नेपाल सरकारले चासो देखाएको छ तर स्थानीय सरकार र प्रदेश सरकारले भने कुनै चासो नलिएकामा स्थानीय दुखी छन् ।


सरकारको तयारी र रेल्वेको हालत


सरकारले एकातर्फ भारतको जयनगरदेखि जनकपुरधामसम्म आधुनिक ब्रोडगेज रेल चलाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ भने अर्कोतर्फ रेल्वेका पुराना इन्जिनहरू संरक्षण अभावमा कवाडीमा परिणत भइरहेका छन् । नयाँ खरिद गरी ल्याइएका रेलका इन्जिन र बोगीसमेत कानुन तथा जनशक्तिको अभावमा धनुषाको इनरवामा थन्क्याएर राखिएको छ ।


भारतको जयनगरदेखि जनकपुरधामसम्म चल्ने न्यारोगेज रेललाई ब्रोडगेजमा परिणत गरिएको छ । नेपाल सरकारले लगभग सात वर्षपछि बन्द रहेको रेल सेवा छिट्टै संचालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि ब्रोडगेज रेलको इन्जिन तथा बोगी खरिद गरी नेपाली भूमिमा समेत ल्याइसकिएको छ । यद्यपि, नयाँ खरिद गरी ल्याइएका ती रेलका इन्जिन र बोगी थन्क्याएर राखिएको छ ।


इन्जिन र बोगी नेपाल ल्याइए पनि रेलसेवा कहिलेदेखि संचालनमा आउने भन्ने अहिलेसम्म निक्र्योल हुन सकेको छैन ।