close

गुल्मीदरबारकाे २२१ पसलमा अनुगमन, ५९ लाई कारबाही

गुल्मीदरबारकाे २२१ पसलमा अनुगमन, ५९ लाई कारबाही

Trulli
ADVERTISEMENT

गुल्मी - स्थानीय तहले बजार अनुगमन नगरेका कारण स्थानीय नागरिकले गुणस्तरहीन वस्तुको उपयोग गर्न बाध्य भएका गुनासा आइरहेका बेला गुल्मीको गुल्मीदरबार गाउँपालिका बजार अनुगमनमा सक्रिय बनेको छ ।


बजार अनुगमनलाई निरन्तरता नदिएका कारण स्थानीय तह आलोचना खेपिरहेका छन् । तर, गुल्मीदरबार गाउँपालिकाले भने मुख्य चाडपर्व नजिकएपछि बजार अनुगमनलाई तीव्रता दिएको छ । पहिलो चरणमा गाउँपालिकाभित्रका २२१ पसलहरूको अनुगमन गरिएको छ । 


अनुगमनको क्रममा ५९ वटा पसललाई कारबाही गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । अनुगमनको क्रममा मापदण्डविपरीत रहेका ५९ पसलहरूलाई कारबाही गरेर २९ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको पाण्डेयले बताए । गाउँपालिकाले गाउँदेखि मुख्य बजार क्षेत्रमा १९ असोजदेखि २६ असोजसम्म बजार अनुगमन गरेको हो । 


खाद्य, मसलाजन्य, पेय पदार्थ, कस्मेटिक सामग्रीलाई प्राथमिकता दिएर बजार अनुगमन गरिएको थियो, जसमा म्याद गुज्रेका खाद्य पदार्थ सुजी, फुरन दाना, भुजा, चिउरा, आँटा, मिठाई, बिस्कुट र मसलाजन्य पदार्थ मिट मसला, सब्जी मसला, चाट मसला, बेसार, खुर्सानी पाउडर बरामद गरेर नष्ट गरिएको छ । 


त्यस्तै, पेय पदार्थ (फ्रुटी, कोक, फेन्टा, स्प्राइट), कस्मेटिक सामग्री (क्रिम, फेसियल क्रिम, मेहन्दी, बडी पफ्र्युम, पाउडर, म्याद गुज्रिएका पेन्टहरू, टुथ पेस्टहरूको अनुगमन गरिएको थियो । विद्यालयको सय मिटरभित्रका पसलहरूबाट सूर्तीजन्य पदार्थ, चुरोटलगायतका सामग्रीहरू ५९ वटा पसलहरूबाट जफत गरी जरिमाना असुल गरिएको गाउँपालिकाको सामाजिक शाखा अधिकृत नवराज घिमिरेले जानकारी दिए । 


अहिले पहिलो पटक भएकाले ५०० रुपैयाँ जरिमाना गरिएको र पुनः सोही अवस्था दोहोरिए छ हजार रुपैयाँसम्म जरिमाना लिने कार्यविधि गाउँपालिकाले बनाएको घिमिरेले बताए । 


त्यस्तै, गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्र दर्ता नगरी संचालन गरेका व्यवसायहरू तथा नवीकरण नगरेका पसलहरूलाई सात दिनभित्र व्यवसाय दर्ता र नवीकरणका लागि लागि पत्र काटेको छ । बजार अनुगमनपश्चात एक हप्तामा मात्र पालिकाभित्रका ११० पसलहरू दर्ता नवीकरणका लागि आएको गाउँपालिकाका प्रशासन अधिकृत टंकप्रसाद पन्थीले जानकारी दिए । 


नागरिकहरूले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरू उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र प्रत्येक त्रैमासिकमा निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख अशोककुमार थापाले बताए ।