close

बुटवल उपमहानगरका ५ सयले पाए लालपुर्जा

बुटवल उपमहानगरका ५ सयले पाए लालपुर्जा

Trulli
ADVERTISEMENT

रुपन्देही - बुटवल उपमहानगरले विभिन्न वडामा गरी झन्डै ५ सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा जग्गा स्वामित्वविहीन करिब ५ सय घरपरिवारलाई उपमहानगरले लालपुर्जा वितरण गरेको हो । 


वडा-१५ मा ४८ परिवार, वडा-१६ मा ६३ परिवार, वडा-१७ मा ९० तथा वडा-१८ मा १ सय ४७ परिवारलाई पुर्जा वितरण गरिएको छ । यस्तै, वडा-१४ मा करिब ६० र वडा- १८ मा करिब ९० लालपुर्जा वितरणको तयारी छ । 


बुटवल-१८ को मोतीपुर पोखराबारीमा उपमहानगर प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका २२ जनालाई लालपुर्जा वितरण गरे । उक्त वडामा यसअघि १ सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकिएको छ भने थप करिब ९० पुर्जा तयार भइरहेका छन् ।


लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१८ का ज्ञानेश्वर आचार्य र अर्की महिला ठनगी थारुलाई निस्सा हस्तान्तरण गर्दै उपमहानगर प्रमुख सुवेदीले मोतीपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्ने गरी योजना बनिरहेको जानकारी दिए ।


‘प्राविधिक टोलीको अध्ययनपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रुपमा विकास गर्ने तयारीमा छौ’, नगरप्रमुख सुवेदीले भने, ‘औद्योगिक करिडोर र आसपासका सबै अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन लागेका छौं ।’


सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, वडाध्यक्ष हुमबहादुर आचार्यलगायत जनप्रतिनिधि सहभागी थिए । नगर जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब ५  सय परिवारलाई लालपुर्जा वितरण गरिएको हो । 


बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनु परेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व वृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमुना काम भइरहेको नगरप्रमुख सुवेदीले बताए । 


मोतीपुर पोखराबारीमा आयोजित पुर्जा वितरण कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले स्थानीयलाई कृषि प्रवर्द्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यावसायिक काम गर्न आग्रह गरिन् । 


उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, त्यसको सदुपयोग गर्न सघाउने र अनुदान व्यवस्था गर्ने हुँदा पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिइन्  ।


कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोली प्रमुख यमप्रसाद पाण्डेले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताए । जग्गाधनी वितरण कार्यक्रममा वडा–१८ का वडाध्यक्ष हुमनाथ आचार्यलगायतका जनप्रतिनिधि सहभागी थिए ।