close

इटहरीमा मास्क नलगाउनेलाई जरिमाना

इटहरीमा मास्क नलगाउनेलाई जरिमाना

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरभित्र बिनामास्क पैदलै वा गाडी चलाएर हिँड्नेमाथि १ सय रुपैयाँ जरिमानालिन थालेको छ । नगरमा कोरोनाका संक्रमित बढ्न थालेपछि उपमहानगरले स्वास्थ्य सतर्कता नअपनाउनेमाथि कारबाहीस्वरुप जरिमानालिन लागेको हो ।


उपमहान उपप्रमुख लक्ष्मी गौतम नेतृत्वको टोलीले बिहीबार दिउँसो गरेको अनुगमनमा ४० जना बढी मास्क नलगाई हिँड्नेमाथि १ सय रुपैयाँका दरले जरिमानागरेको थियो ।


इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार उपमहानगर कार्यालय अगाडि, इटहरी चोक, विराटनगर लाइन, हटिया लाइनमा गरिएको अनुगमनमा क्रममा ४० जनाले मास्क नलगाई हिँड्काले जरिमानागरिएको छ ।


उपमहानगरले १ हातले जरिमानालिने र अर्को हातले निःशुल्क मास्क वितरण गरिरहेको नगर उपप्रमुख गौतमले जानकारी दिइन् । पसल सञ्चालक, सवारी चालक, पैदलयात्रीले मास्क नलगाएको पाइएको छ । मास्क भए पनि गोजीमा राख्ने र चिउडोमा लगाउनेसमेत भेटिएका छन् । जिल्ला प्रशासन, इलाका प्रहरी कार्यालय, स्वास्थ्यकर्मीसहितको टोली अनुगमन गरेको हो ।

 

‘मास्क नलगाउनेलाई कोभिडको जोखिम र स्वास्थ्य सचेतनाबारे जानकारी गराइएको छ । कारबाही गरिएकाले अबदेखि मास्क लगाएर हिँड्ने प्रतिबद्धता जनाएका छन्’, उपप्रमुख गौतमले भनिन् । इटहरी उपमहानगरले रेड जोन तोकी सो क्षेत्रमा बिनाप्रयोजना हिँडडुलमा प्रतिबन्ध लगाएको छ । अनुगमन प्रत्येक दिन जारी रहने गौतमले जानकारी दिइन् ।


उपमहानगरले कोभिड नियन्त्रणका लागि इटहरी चोक, बुढीखोलादेखि खेतीखोलासम्म, उत्तरमा सैनिक ब्यारेकदेखि दक्षिणमा साथी पेट्रोलपम्पसम्म, संगीत चोक, हटिया लाइन, बसपार्क, तरहरा बजार, खनार बजार, पकली चोकसम्मको क्षेत्रलाई रेड जोनमा राखेको छ ।


यस्तै, बढी भीडभाड हुने उपमहानगर कार्यालय, वडा कार्यालय, इटहरी अस्पताल, यातायात, विद्युत् कार्यालय, बैंकहरु रेड जोनमा परेका छन् ।


इटहरीमा प्रत्येक पसल, कार्यालयअगाडि पानीसाबुनको व्यवस्था अनिवार्य गरिएको छ । यस्तो व्यवस्था नगरे एक पटक सचेत गराउने, पुनः उल्लंघन गरे संक्रामक रोग निवारण ऐन, २०२० अनुसार कारबाहीको लागि सिफारिस गरिने उपमहानगरले घोषणा गरेको छ  ।


इटहरीमा कोरोना महामारी नियन्त्रणमा नआएसम्म साप्ताहिक हटिया, सभा, मेला, भोजभतेर तथा सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ । ज्येष्ठ नागरिक, दम, मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग भएका र गर्भवती, सुत्केरी र बालबालिकालाई उपचारका लागिबाहेक हिँडडुलमा रोक लगाइएको छ । 


कोरोना जोखिम बढिरहेकाले स्वास्थ्य मापदण्डलाई कडाइसाथ कार्यान्वयन गर्न नागरिकसँग उपमहानगरले आग्रह गरेको छ ।