close

खोटेहाङ गाउँपालिकालाई प्रदेश सरकारले दियो दमकल र प्रहरी भ्यान

खोटेहाङ गाउँपालिकालाई प्रदेश सरकारले दियो दमकल र प्रहरी भ्यान

Trulli
ADVERTISEMENT

खोटाङ - प्रदेश १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई दमकल र प्रहरी भ्यान प्रदान गरेको छ । अत्यावश्यक सेवा केन्द्र संंचालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिकालाई एउटा बारुणयन्त्र (दमकल) र एउटा प्रहरी भ्यान प्रदान गरेको हो । 


बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गरेका हुन् । 


अत्यावश्यक सेवा केन्द्र संचालनका लागि प्रदेश सरकारले केही समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ । प्रदेश सरकारले उपलब्ध गराएको दमकल आगलागीका समयमा अग्निनियन्त्रणका लागि उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए । 


जिल्लाका १० वटा स्थानीय तहमध्ये हालसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र दमकल थियो । यस्तै, बिरामीलाई अस्पतालसम्म पुर्‍याएर ज्यान बचाउनका लागि एम्बुलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ । 

 

एकै ठाउँबाट मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र संचालन गर्ने लक्ष्यअनुसार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बुलेन्स उपलब्ध गराएको बताइएको छ । 

 

‘यो उपलब्धि प्राप्तिमा संघीय सांसद, प्रदेश सांसदलगायतको योगदान छ’, गाउँपालिका अध्यक्ष राईले भने, ‘प्राप्त भएका दमकल, भ्यान र एम्बुलेन्स इलाका प्रहरी कार्यालय खोटाङ बजारमा राख्नेछौँ र आवश्यक परेको समयमा प्रयोगमा ल्याउनेछौँ ।’ 


प्रदेश सरकारले उपलब्ध गराएको दमकल र प्रहरी भ्यान लिनका लागि गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईलगायत विराटनगर पुगेका थिए ।