close

चिनी मिलले दिएनन् कृषकको १८ करोड

चिनी मिलले दिएनन् कृषकको १८ करोड

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– उखुको भुक्तानी नपाएपछि पश्चिम नवलपरासीका उखु किसानहरु निराश भएका छन् । तीन वर्षदेखि लागातर भुक्तानीको आस्वासन मात्र पाइरहेका किसानहरुले भुक्तानी नपाउँदा मर्कामा परेका हुन् ।


उखु बेच्ने सिजन सुरु हुन लाग्दा समेत पुरानै भुक्तानी नपाउँदा कृषक हैरानीमा छन् । लामो लकडाउनमा ऋण सापटी खोजेर बल्लतल्ल आफनो घर–व्यवहार मिलाए, ‘उखु किसान राम प्रसाद पालले भने, ‘गहुँ मसुरो तोरी छर्ने खर्च छैन । चडपर्व त परै जाओस ।’

 

उखु किसानहरुले मिललाई एक महिनाका लागि मात्र उखु उधारोमा दिएका थिए । मिलहरुले बन्दाबन्दी लगायतका बहाना देखाउदै आलटाल गर्दै तीन वर्षसम्म पनि भुक्तानी नदिएको पालको गुनासो छ ।

 

जिल्लामा बागमती, खाडसारी चिनीमिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनी मिल गरी ३ ठुला चिनी मिल सञ्चालनमा छन् । गतवर्ष बागमती बाहेक ईन्दिरा र लुम्बिनी चिनी मिलले मिल नै चलाएनन् । बागमती चिनी मिलले क्रमशः उखुको भुक्तानी गरेपनि तीन वर्षयता लुम्बिनी र ईन्दिरा सुगर मिलले किसानलाई भु्क्तानीमा आलटाल गर्दै आएका छन् ।


उखु किसानहरुले इन्दिरा सुगर मिलबाट ८ करोड, लुम्बिनी चिनीमिलबाट १० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । मिल संचालकहरुले भाग्दै लुक्दै विभिन्न बहानामा भुक्तानी गर्न आलटाल गर्दै आएको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादवको आरोप छ ।


‘अहिले किसानहरुसँग पैसा छैन । लामो समयको लकडाउन छ । बजारमा पैसा नभएकाले किसानहरु कसैबाट सापटी वा ऋण पनि पाइरहेका छैनन’, यादव भन्छन, ‘चाडबाड छ । हिउदे बाली लगाउने बेला पनि आयो । घर–व्यवहार मिलाउने र खेतीपाती गर्न पैसा नहुदाँ गाह्रो भएको छ ।’


मिल सञ्चालकका रवैयाका कारण किसानहरु बर्षेनी उखु खेती छाड्दै गएका छन् । पहिला जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको थियो ।  हाल  ५ हजार हेक्टर क्षेत्रफलमा एक हजार कृषकले मात्र मात्र उखु खेती भएको पाइएको संघले जनाएको छ ।


सरकारले उखुको समर्थन मुल्य ५ सय ३६ रुपैया प्रति क्विन्टल तोकेपनि मिलहरु सो मूल्य तिर्न तयार नरहेकाले भुक्तानीमा थप ढिलाई भइरहेको संघले जनाएको छ ।