close

नवलपरासीमा धान उत्पादन ३० प्रतिशत घट्यो

नवलपरासीमा धान उत्पादन ३० प्रतिशत घट्यो

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम पश्चिम नवलपरासी जिल्लामा यस वर्ष धान उत्पादन ३० प्रतिशत घटेको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले यसअघि धान उत्पादन १५ देखि २० प्रतिशत घट्ने बताएको थियो । 


‘यस वर्ष सबै पालिकाबाट आएको तथ्यांक हेर्दा जिल्लामा ३० प्रतिशत धान उत्पादन घटेको अनुमान छ’, कृषि ज्ञान केन्द्र प्रमुख देवेशकुमार मिश्र भने, ‘समयमै मल बिउ उपलब्ध भएन, सुरुमै र पछि पनि बाढी आयो । डुबान भयो । कारण त्यही हो ।’


यसअघि उनले १५ देखि २० प्रतिशतसम्म धान उत्पादन घट्ने आँकलन गरेका थिए । ‘किसानहरूले आफ्नो उत्पादन आधा आधी घटेको भन्ने गुनासो पनि गरेका छन्’, मिश्र भन्छन्, ‘सरावल र पाल्हीनन्दनमा डुबानबाट धेरै क्षति भएको छ । सुस्तामा कटानले क्षति बनायो । रामग्राममा पनि घटेको छ । बर्दघाट र सुनवलको उत्पादनमा पनि समस्या भयो ।’


अधिक वर्षा, डुबान तथा कटान, मल तथा बिउको अभाव र रोगका कारण उत्पादन घटेको उनको भनाइ छ । अझ पालिकाहरूबाट के कति क्षति भएको हो, त्यो यकिन तथ्यांक भने आउने क्रममै रहेको उनले बताए । 


आर्थिक वर्ष २०७६/०७७ मा पश्चिम नवलपरासीमा ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा धान खेती गर्ने जमिन २१ हजार १७५ हेक्टर छ ।