close

थुनेलो रोग नियन्त्रणका लागि बर्दघाटकाे प्रविधि हस्तान्तरण

थुनेलो रोग नियन्त्रणका लागि बर्दघाटकाे प्रविधि हस्तान्तरण

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखा गाई तथा भैँसीमा लाग्ने थुनेलो रोग नियन्त्रणका लागि कृषकहरूलाई थुनेलो रोकथामका लागि थुन डुबाउने प्रविधि हस्तान्तरण गरेको छ ।

 

थुनेलोबाट कृषकका गाई तथा भैँसीको दूध उत्पादनमा घट्ने गरेको पाइएकाले उत्पादन नघटोस् भन्ने उद्देश्यले थुन डुबाउने प्रविधिसहितको औषधि प्रदान गरिएको हो ।


कृषि क्षेत्रबाट नगरको समृद्धि हुने भएकाले कृषि तथा पशुपालनको क्षेत्रमा नयाँ योजना एवं कार्यक्रम ल्याउने क्रममा प्राविधिकहरूको परामर्शबाट थुन डुबाउने प्रविधि ल्याइएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । 


‘यस प्रविधिबाट सकेसम्म लाभ लिनुहोस्’, बुधबार चौपतास्थित चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाको सभा हलमा आयोजित कार्यक्रममा उनले भने, ‘एकअर्काबाट सिक्दै, सिकाउँदै अगाडि बढनुहोस् ।’ कृषिबाटै जीविकोपार्जन गर्नेहरूका लागि नगरले धेरै सहुलियतका कार्यक्रम ल्याएको उनले बताए ।


भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय परासीका प्रमुख डा. भरत काफ्लेले पशुपालक कृषकहरूले थुनेलो रोगबाट पशुहरूलाई बचाउन र उत्पादन वृद्धि गर्न यो प्रविधि महत्त्वपूर्ण हुने बताए ।


कार्यक्रममा बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्साल, पशु सेवा प्राविधिक रामप्रसाद पौडेलले दूध दुहेपछि थुनको सफाइ र आहारको व्यवस्थापनमा ध्यान दिए थुनेलो रोगमा कमी हुने जनाए ।


अगुवा कृषकहरू देवीलाल काफ्ले, कमल ढकाल र लक्ष्मणजंग हमालले आफूहरूले गत वर्षबाटै यो प्रविधि प्रयोग गरेकाले यो निकै उपयोगी रहेको र थुनेलोको उपचार खर्चसमेत बचेको बताए ।