close

कृषिमा रमाउनुको बेग्लै मज्जा !

कृषिमा रमाउनुको बेग्लै मज्जा !

Trulli
ADVERTISEMENT

इलाम- चिया खेतीले समृद्ध इलाममा अन्य कृषि उपज उत्पादन पनि बढ्न थालेको छ । जिल्लामा कृषि उपज उत्पादन बढेकाले किसानको आम्दानीसँगै निर्यातसमेत वृद्धि भएको छ । 

 

यो वर्ष कृषि उपज निर्यातबाट ४ अर्ब ४० करोड ७२ लाख ५० हजार रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । उत्पादित कृषि उपज जिल्लामै खपतपछि ८ हजार १ सय २२ मेट्रिक टन निर्यात भएको छ ।

 

कृषि उपज उत्पादन बढेसँगै जिल्लामा कृषि कर्म व्यावसायिक बन्दै गएको छ । रोजगारीको वैकल्पिक माध्यमको रूपमा कृषि कर्मलाई युवा पुस्ताले अँगाल्न थालेको हो । कृषि कर्ममा आकर्षण बढेसँगै खेती बाली क्षेत्रसमेत फस्टाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

आम्दानीसँगै कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने किसानको संख्या बढदै गएको छ । सरकारले कृषिमा लगानी, अनुदान, प्राविधिक सहयोगमा प्राथमिकता दिएकाले जिल्लाका किसान व्यावसायिक हुन थालेको इलामस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले जानकारी दिए ।


‘व्यक्तिगत उत्पादनलाई भन्दा संस्थागत, सामूहिक, फर्म, उद्योग, व्यवसायमा स्थानीय सरकारी लगानी नीति बढेसँगै व्यावसायिक खेतीमा युवा आकर्षण बढ्दै गएको हो । सरकारको प्राथमिकता विदेशबाट फर्किएर आएका युवा लक्षित भएकाले व्यावसायिक खेतीमा उनीहरूको चासो बढ्दै गएको छ’, खड्काले भने ।

 

नगदे बालीले परिचित जिल्लामा अलैंची, अदुवा, ताजा तरकारी, स्कुस, अकबरे, केराउ, आलु, सुन्तला, किबी र कफीको व्यावसायिक खेती बढ्दै गएको छ । यसका साथै यो वर्ष धान, मकै, गहुँजस्ता बालीको समेत खेती बढेको खड्काले जानकारी दिए । 

 

आधुनिक प्रविधिसँगै यान्त्रिकीकरणमा जोड दिइएकाले कृषि व्यवसाय सहज बन्दै गएको छ । स्थानीय क्षेत्रमा कृषि कामदार अभावले यान्त्रिकीकरणमा जोड दिइएको हो । सरकारी नीति नै व्यावसायिक किसानलाई ऋण, अनुदान र सहयोगमा केन्द्रित रहेकाले कृषि कर्म व्यावसायिक बन्दै गएको छ ।


केन्द्रमार्फत १५ करोडभन्दा बढी लगानी

 

कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका किसानलाई १५ करोड ३१ लाख ८४ हजार लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणको २८ कार्यक्रममा अनुदान वितरण गरिएको छ ।

 

९७ व्यक्ति तथा सहकारी समूहलाई प्रदेश सरकार अर्थात् ज्ञान केन्द्रको कार्यक्रमअन्तर्गतको बजेट अनुदान दिइएको छ । अनुदानले जिल्लाका ३ हजार १ सय १५ घरधुरीका ७ हजार ६ सय ३ जना १५ देखि ५९ वर्षका युवा लाभान्वित भएको तथ्यांकमा उल्लेख छ ।