बागलुङ- २७ वर्षअघि रामबहादुर कुँवरले शिक्षक पेसासँगै व्यवसाय गर्ने योजना बनाए । उनले कोदो र मकै मासेर एकै पटक २ सय सुन्तलाका बिरुवा रोपे ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङको श्रीकाङका कुँवरले छिमेकीलाई पनि सुन्तला लगाउन सल्लाह दिए पनि उनको कामलाई धेरैले नराम्रो सोचे ।
उनको सल्लाह पनि छिमेकीले सुनेनन् । २-४ चार वर्षमै जब कुँवरको बारीमा लटरम्म सुन्तला फल्न थाले, अरू गाउँले मोहित भइहाले । सजिलै सुन्तला बेच्न पाइने आशले कुँवरले बजारको खोजी गरे ।
सदरमुकाम टाढा भएकाले डोकोमा बोकेर लैजान मुस्किल हुन्थ्यो । केही वर्ष उनको सुन्तलाले बजार पाउन सकेनन् ।
हुँदाखाँदाको खेती मासेर सुन्तला लगाएपछि दुःख पाएको भनेर छिमेकी सचेत बनाउँथे । तर, कुँवर दम्पतीको दुःखका दिन धेरै समय टिकेनन् ।
कुश्मा फलेवास हुँदै सेतीवेणी जाने कालीगण्डकी राजमार्गको रेखांकन भएपछि भने सुन्तलाले बजार पायो ।
सडकमा गुड्ने जिपले सजिलै उनीहरूको सुन्तला बजार लैजान थालेपछि कुँवर दम्पतीले नगद हात पारेको देखेपछि भने पहिला होच्याउने छिमेकी सुन्तला नलगाएकोमा पछुतो मान्न थाले ।
त्यसपछि पाङराङबासीले बल्ल सुन्तलालाई व्यावसायिक खेतीको रूपमा लिन थालेका छन् ।
‘केही समय कोदो र मकै नफल्दा परिवार पाल्न समस्या थियो,’ कुँवरकी श्रीमती निर्मलाले भनिन्, ‘दुःख छउन्जेल छिमेकीबाट सहयोगभन्दा आलोचना बढी भयो ।’
सबै छिमेकीलाई सुन्तलाका बिरुवा रोप्न सल्लाह दिँदा कसैले नरोपेको उनले सुनाइन् ।
व्यावसायिक हुने गरी धेरै बिरुवा नलगाए पनि थोरै रोप्न दिएको सल्लाहसमेत उनीहरूले नटेरेको कुँवरले बताइन् ।
विस्तारै कुँवर दम्पतीले सुन्तला बढाएर ४ सय बिरुवा पुर्याए । अहिले उनीहरूको बारीमा वार्षिक झन्डै ४ लाख रुपैयाँको सुन्तला फल्छ ।
कुँवरको अगुवाइमा सुरु भएको सुन्तलाको व्यावसायिक उत्पादनको अभियानले अहिले पाङराङमा मात्रै करोडौँ रुपैयाँ भित्रन थालेको छ ।
पोखरा र बुटवलदेखिका व्यवसायी घरमै आएर उनीहरूको सुन्तला उठाउँछन् । सुन्तला राम्रो फल्न थालेपछि कृषि ज्ञान केन्द्र कुश्माले पनि प्राविधिक सहयोग बढाएको कुँवरले जानकारी दिइन् ।
२०६४ मा रामबहादुरको दुर्घटनामा मृत्यु भयो । तर, उनकी श्रीमती निर्मला श्रीमान्ले देखाएको बाटोमै छिन् । सुन्तला खेतीबाटै कमाएको पैसाले छोराछोरी पढाउने र बिहादान गरिन् ।
त्यही कमाइबाट अहिले उनको पसलसमेत छ । ‘उत्पादन हात पार्न धेरै मिहिनेत गर्नुपर्छ तर समयमै गरिएको जोहोले भविष्य सुखद बनाउने रहेछ,’ कुँवरले भनिन्, ‘जति दुःख खेपे पनि बुढेसकालको सहारा सुन्तला बनेको छ ।’
कुँवर दम्पतीको सिको गरेरै सुन्तलाबाटै यहाँका तारालाल कुँवरले पनि कमाइ गर्न थालेका छन् । उनले पनि निर्मलाको सल्लाहले कमाइ गर्न पाएको बताए ।
‘सुन्तला लगाउँदा अन्न खान पाइँदैन कि भनेर पहिला टेरेनौँ,’ उनले भने, ‘१०-२० हजारको अन्न नफल्ने बारीमा अहिले लाखको कमाइ भएको छ ।’