close

उदयपुरगढीका किसानलाई ८० प्रतिशत अनुदानमा चापाकटर

उदयपुरगढीका किसानलाई ८० प्रतिशत अनुदानमा चापाकटर

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको उदयपुरगढी गाउँपालिकाले पशुपालक किसानलाई ८० प्रतिशत अनुदानमा चापाकटर वितरण गरेको छ । व्यावसायिक पशुपालक किसानलाई घाँस काट्ने मेसिन (चापाकटर) वितरण गरिएको हो । 

 

गाउँपालिकाको पशु स्वास्थ्य शाखाले समूह, फार्म तथा व्यक्ति गरी १२ वटा चापाकटर मेसिन उपलब्ध गराएको हो । ‘व्यावसायिक पशुपालक किसानलाई प्रविधिसँगै बजारीकरण, घाँस बिउसमेतमा पालिकाले सहयोग गर्दै आएको छ’, उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले भने । 

 

पालिकाको ८० प्रतिशत अनुदान र समूह वा फर्म, व्यक्तिको २० प्रतिशत लगानीमा चापाकटर वितरण गरिएको अधिकृत सुवेदीले बताए । उनका अनुसार चापाकटरको मूल्य करिब ४ लाख रुपैयाँ बराबर परेको छ ।


चापाकटर अनुदान पाउनेमा संयुक्त मिलिजुली बाख्रा पकेट क्षेत्रमा २ वटा, तावश्री तरकारी बाली पकेट समिति, बैजनाथ कृषि फार्म, दनुवारबेँसी सक्रिय कृषक समूह, नमुना पशुपालन कृषि फार्म, पवित्रा कृषि तथा पशुपक्षी फार्म रहेका छन् ।


यस्तै, नवीना एग्रो फार्म, पौवा बैजनाथ भैँसी तथा गाईपालक कृषक समूह, दलमुखी महिला कृषक समूह, आइतबारे भैँसी फार्म र उन्नत कृषि तथा पशुपक्षी फार्म कृषक समूहलाई १÷१ वटा चापाकटर उपलब्ध गराइएको छ ।

 

उदयपुरगढीका अध्यक्ष मानबहादुर केप्छाकी मगरले चापाकटर मेसिनले किसानको समय बचत हुने, बचत भएको समय अन्य क्षेत्रमा काम गर्न सकिने बताए । बिजुलीबाट मेसिन चलाउन सकिने भएकाले घाँसलाई टुक्रा बनाउँदा एउटै व्यक्तिले काम गर्न सक्नेछन् ।

 

गाउँपालिका पशु शाखाका पशु प्राविधिक शेखर कार्कीका अनुसार किसानको मागमा आधारित भएर चापाकटर मेसिन उपलब्ध गराइएको हो । ‘हामीले सूचना प्रकाशित गरेका थियौँ’, उनले भने, ‘निर्धारित समयभित्र परेका निवेदनबाट स्थलगत अनुगमन गरेर किसान छनोट गरेका हौँ ।’