close

एक घर एक भैँसी, खाऔँ दूध नखाऔँ रक्सी

एक घर एक भैँसी, खाऔँ दूध नखाऔँ रक्सी

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १६ ले ‘एक घर एक भैसी नखाआ‍ैँ रक्सी’ भन्ने नाराका साथ किसानहरुलाई भैसी बितरण गरेको छ । मदिराजन्य पदार्थ उत्पादन र प्रयोग घटाउँदै व्यावसायिक पशुपालन तर्फ जोड दिऔं भन्ने अभियान थालेको छ । दूधजन्य पदार्थ उत्पादन र उपभोग बढाउँदै मदिराजन्य पदार्थमा कमी ल्याउन वडाले यस्तो अभियान थालेको हो । 

 
वडा भित्र रहेका व्यावसायीक कृषकहरुलाई मुर्राक्रस जातको भैँसी ४० प्रतिशत अनुदानमा वितरण गरेको वडा अध्यक्ष मानबहादुर राईले बताए । चालु आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वडागत बजेटबाट ‘एक घर एक भैँसी, खाऔँ दूध नखाआ‍ैँ रक्सी’ अभियान अन्तर्गत वडाले भैँसी वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए ।


वडाको बेङग्री, सिद्रे र शाहिखोलाका १० जना कृषकहरुलाई ४० प्रतिशत अनुदानमा मुर्राक्रस जातको भैँसी वितरण गरिएको हो । व्यवसायिक भैँसीपालन व्यवसायको प्रवर्द्धन गर्नुका साथै समाज सुधार र आत्मा निर्भरमा सहयोग पुग्ने वडाले अपेक्षा गरेको छ ।


भविष्यमा विभिन्न उपलब्धिहरु हासिल गर्ने अपेक्षितका लिष्ट सहित भैँसी वितरण गरिएको जनाए । भैसी वितरणले वडामा २७ प्रतिशत गरिबी घटाउने,  मादक पदार्थको सेवनका कारण महिला माथि हुने हिंसा दुव्र्यवहारमा कमी आउने, बालबालिका र जेष्ठ नागरिकहरुमा पोषणका मात्रा पूरा गराउने, मादक पदार्थको सेवनबाट हुने सामाजिक अपराधमा कमी ल्याउने, साझेदारी व्यवसायको विकास तथा विस्तार गर्ने जस्ता उद्देश्यहरु पुरा हुने अपेक्षा गरेको छ ।

 

भैँसी प्राप्त गर्ने सबै कृषकहरुलाई वडाध्यक्ष राईले शुभकामना दिदै वडाको लक्ष्य र उद्देश्य पुरा गर्न आग्रह गरे । भैँसी पाएका कृषकहरुले आफुलाई थप व्यवसायी बनाउनेमा सहयोग पुगेको बताएका छन् । उनीहरुले किसानले एक मुस्ट रुपमा लगानी गर्न सक्ने अवस्था नभएको अवस्थामा वडाको यो अभियानले आफुहरुमा निकै ठुलो राहत मिलेको बताए ।


मदिरा नियन्त्रण गर्दै दूधजन्य पदार्थको उत्पादन र सेवनमा जोड दिदै गरिबी निबारण गर्न आफनो वडाबाट अभियान थालेको वडाध्यक्ष राईले बताए । मदिरा सेवनले घरेलु हिंसा, झै झगडा, स्वास्थ्यमा खराबीका साथै आर्थिक र सामाजिक क्षति हुने समस्याबाट वडाबासीलाई मुक्ति दिँदै व्यावसायिक पशुपालनतर्फ उन्मुख गराउन अभियान थालेको बताए ।

 

पशुपालनबाट दूधजन्य पदार्थ उत्पादन, सेवन र बिक्री वितरणले स्वास्थ्यमा फाइदा हुनुका साथै आय आर्जन समेत गर्न सकिने उनको ठहर छ ।  वडाले कृषकलाई भैँसीपालनतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट पहिलो चरणमा १० किसानलाई भैँसी किन्न अनुदानमा खर्च गरिने वडाध्यक्ष राईले बताए ।  


व्यावसायिक भैंसी पाल्न इच्छुक किसानलाई वडाले ४० प्रतिशत अनुदान दिने छ । बाँकी ६० प्रतिशत रकम सहकारीबाट जुटाउन सहकारी गठन गरिएको छ । सहकारीको ऋण एक वर्षभित्र तिर्न मिल्ने गरी व्यवस्था मिलाउन वडा नं १६ मै ‘ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ गठन गरी सञ्चालनमा ल्याइ सकिएको उनले बताए । 


‘दूधजन्य पदार्थ सेवन र बिक्री वितरण गर्दै मदिरा उत्पादन र प्रयोगमा कमी ल्याउन हाम्रो नगरपालिकाले यो दीर्घकालीन प्रभावको योजना अघि सारेको हो,’ वडाध्यक्ष राईले भने, ‘चालु वर्ष परीक्षणका लागि आफनै वडाबाट अभियान सुरु गर्दैछु, पछि नगरपालिका भरी विस्तार गरिने छ । भौगोलिक रूपमा वडा नं १६ मा खोंच, खोला नाला र घासजन्य वनस्पती बाक्लो भएको जंगल भएकाले पशुपालनको अत्यन्त सम्भावना भएर त्यसतर्फ वडाले जोड दिएको उनले बताए । 


‘भैंसीपालनबाट दूध, दही, घ्यु उत्पादन हुन्छ र जसले बालबालिका र बृद्धबृद्धामा पोषणको कमी हुन नदिएर स्वस्थ राख्छ,’ अध्यक्ष राईले भने, ‘मदिरा सेवनबाट हुने घरेलु हिंसा लगाएत विभिन्न सामाजिक बिकृतिमा पनि यसले कमी ल्याउँछ । किसानलाई भैँसीपालनमा जोड दिएका उनले उत्पादित दूधको व्यवस्थित खपत र बिक्री वितरण गर्न वडामै दूध चिस्यान केन्द्र खोल्न प्रदेश सरकारसँग प्रस्ताव पनि गरिसकेका छन् ।


प्रदेश सरकार र नगरपालिकाको समन्वयमा वडामै एउटा चिस्यान केन्द्र खोलेर त्यहाँ उत्पादित दूध र दूधजन्य पदार्थको व्यवस्थित बिक्री वितरण गरिने उनले बताए । यसले किसानलाई आत्मनिर्भर बनाउनुका साथै उनीहरूको आयआर्जनमा बृद्धि हुने लक्ष्य वडाले लिएको छ ।