close

१८औँ राष्ट्रिय धान दिवस: हिलो छ्याप्न चाहिँ पाइन्न

१८औँ राष्ट्रिय धान दिवस: हिलो छ्याप्न चाहिँ पाइन्न

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सरकारले मंगलबार मनाइने १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका बेला अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाको प्रोटोकल सार्वजनिक गरेको छ ।


ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले केन्द्र र प्रदेशबाट प्राप्त कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायसहितको प्रोटोकल सार्वजनिक गरेको हो । 


प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गर्दै न्यूनतम २ मिटर भौतिक दूरी कायम गरी स-साना उपसमूहमा रहेर मात्र रोपाइँ महोत्सव मनाउन सकिनेछ ।


यस्तै, कार्यक्रम स्थलमा उपयोग भएका फर्निचर तथा अन्य सामग्री निःसंक्रमण गर्ने तथा सोको व्यवस्थापन गर्दा कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ ।


स्थानीय स्तरमा धान दिवस तथा रोपाइँ महोत्सव संयुक्त रूपमा मनाउन सक्ने अवस्था नभए सहकारी फार्म तथा केन्द्रमा मनाउनसमेत पालिकाले भनेको छ ।


रोपाइँ महोत्सव प्रवेश बिन्दुमा सम्भव भएसम्म तापक्रम तथा लक्षण पहिचान गर्ने र परीक्षण गर्दा १०४ डिग्रीभन्दा बढी बढी ज्वरो आएको पाइए त्यस्ता व्यक्तिलाई कार्यक्रम स्थलमा प्रवेश गर्न रोक लगाउन सकिने प्रोटोकल तयार भएको छ । 


प्रवेश बिन्दुमा साबुनपानीले हात धुने व्यवस्था गर्ने र गुणस्तरीय स्यानिस्टाइजर तथा मास्क प्रयोगलाई अनिवार्य गर्न, रोपाइँ महोत्सवमा व्यक्तिबीचको दूरी कम्तीमा २ मिटर कायम गर्न र स-साना क्षेत्र निर्धारण गरी रोपाइँ गर्न, साधारण तवरले बाहेक अन्य सांस्कृतिक र परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न र हिलो छ्याप्ने कार्य पूर्ण रूपमा बन्द गर्ने प्रोटोकल तयार भएको छ । 

 

रोपाइँ महोत्सवका बेला चिया, खाजा खाने कार्यक्रममा समेत २ मिटरको भौतिक दूरी कायम गर्न र व्यक्तिगत सुरक्षार्थ मास्क प्रयोग अनिवार्य गर्नसमेत प्रोटोकलमा भनिएको छ ।


महोत्सवबाहेक अन्य दिनका धान रोपाइँमा प्रोटोकलमा खाजा, चियाको प्रबन्ध गर्नेहरूले समेत भौतिक दूरी, मास्क र स्यानिटाइजरसहितको स्वास्थ्य सुरक्षाको मापदण्डको अनिवार्य पालनामा जोड दिइएको छ ।


कम श्रम लाग्ने मेसिन तथा प्रविधिको प्रयोग गर्न, सकेसम्म थोरै मानिस संलग्न हुने कृषि मेसिनरी प्रयोगअघि र पछि साबुनपानीले हात धुने तथा उपकरणसमेत निःसंक्रमण गर्ने व्यवस्था गर्नुपर्नेछ ।


रोपाइँ हुने क्षेत्रमा रोपाइँपछि साबुनपानीले हात धुने तथा गुणस्तरीय स्यानिटाइजरको व्यवस्था गर्न र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट जारी गरिएको कोभिड-१९ संक्रमणका सन्दर्भमा कृषि क्षेत्रले अपनाउनुपर्ने प्रोटोकलको अनिवार्य पालना गर्न सरकारले भनेको छ ।


यो वर्ष १८औँ धान दिवस तथा रोपाइँ महोत्सव १५ असारमा ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ मनाइँदै छ ।